युक्रेनको पक्षमा लड्न ३ हजार अमेरिकीले स्वयंसेवा गर्ने
रुसले युद्धविरामको पालना नगरेको युक्रेनको आरोप

किएभ । रुसी आक्रमणविरुद्ध लड्न युक्रेनले विदेशी स्वयंसेवकहरूलाई आह्वान गरेको थियो । त्यसका लागि करिब तीनहजार अमेरिकीले जवाफ दिएको वाशिङ्टन डीसीस्थित युक्रेनी दूतावासका प्रतिनिधिले जनाएका छन् ।
पश्चिमा राष्ट्रहरूले युक्रेनमा लड्नका लागि सेना पठाएका छैनन्। तर, लडाइँमा सहयोग गर्न युक्रेनलाई हतियार पठाउँदै आएका छन् । उनीहरूले रुस र रुसी नेताहरूविरुद्ध आर्थिक प्रतिबन्धहरू समेत लगाएका छन् .
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूले युद्ध लड्नका लागि सहयोग पुर्याउन विदेशी स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय सेना गठन गर्न आह्वान गरेका हुन् । केही दिन अघि, जेलेन्स्कीले लगभग १६,००० विदेशीहरूले युक्रेनलाई लडाइँमा मद्दत गर्न स्वयंसेवा गरेको अनुमान गरेका थिए ।
रुसले युक्रेनमाथि हमला जारी राखेको छ । उसले युद्ध विरामको पालना नगरेको युक्रेनको आरोप छ । आक्रमण जारी राख्दा युद्धग्रस्त क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको जनाइएको छ ।
रुसले शनिबार युक्रेनका दक्षिण पूर्वी दुई शहर मारियुपोल र भोनोभाखामा अस्थायी युद्ध विराम घोषणा गरेको थियो । तर आधा घण्टाभन्दा कम समय मात्रै रुसले युद्ध रोकेको जनाइएको छ ।
बीबीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया