यातायात महासंघको धम्की- भाडा नबढाए आन्दोलन गर्छाै

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ । भाडा समायोजन गर्न माग गर्दै आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो ।
एक हप्ताभित्र समस्या समाधान नभएमा आगामी चैत्र १ गतेबाट आन्दोलनमा जाने उनीहरुको चेतावनी छ । महासंघले हाल कायम भाडा दरमा अन्तर प्रदेश र प्रदेश स्तरीय रुटमा न्युनतम २६ प्रतिशतले बृद्धि गर्न र ट्याक्सीको हकमा सुरुवाती ८० रुपैयाँ तथा भाडा प्रति मिटर ६० रुपैयाँदरले समायोजन गर्न सरकारसँग माग गरेको छ ।
महासंघका अध्यक्ष डोलनाथ खनालले अन्तिम पटक भन्दै सरकारलाई ७ दिनको समय अवधिमा माग सम्बोधन गर्न आग्रह गरेको बताए । उनले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको आधारमा भाडा तत्काल समायोजन गर्न सरकारसँग माग समेत गरे । अध्यक्ष खनालले विगतजस्तै आन्दोलनको निमित्त ७ दिने सरकारलाई अल्टिमेटम दिएको बताए ।
उनले केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म, वर्तमानदेखि पूर्व-वर्तमानसम्म, पहिलादेखि हालसम्म सरकारमा रहनेहरुले नीजि क्षेत्रका कुनै नीति निर्माण नगरीकन् पलायन गराउन खोजेको आरोप लगाए । उनले भने, ‘केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म, वर्तमानदेखि पुर्ववर्तमानसम्म, पहिलादेखि हालसम्म सरकारमा रहनेहरुले नीजि क्षेत्रका कुनै निति निर्माण नगरीकन पलायन गराउने, लगानी ध्वस्त बनाउने, यसप्रति साझा दृष्टिकोण नबनाउने र आफै तड्पिएर कमजोर भएर जाने परिस्थितिको सृजना भयो ।’
उनले २०६५ सालमा यातायात क्षेत्रको लागि सरकारले एउटा भाडा नीति बनाएको उल्लेख गरे । सोही नीतिको आधारमा गत असारसम्म भाडादर कायम भइरहेको उनले बताए । ७३ सालदेखि ०७८ सालसम्म आइपुग्दा बाग्मती प्रदेशमा ट्याक्सीको भाडा अहिलेसम्म समायोजन हुन नसकेको पनि उनले स्पष्ट पारे । उनले भने, ‘०७३ देखि ट्याक्सीको भाडा अहिलेसम्म समायोजन हुन सकेको छैन् ।’
संघीय सरकारले गत असार २८ गते भाडा समायोजन गर्दा डिजेलको मुल्य प्रतिलिटर १०७ रुपैयाँ रहेको र तत्पश्चात पटक-पटक मुल्य बृद्धि भै हाल डिजेल प्रतिलिटर १३३ रुपैयाँ कायम भएको पनि उनले जानकारी दिए । असार २८ गतेपछि २७ रुपैयाँ पेट्रोलियम पदार्थको मुल्य बढेपनि आजसम्म भाडा समायोजन नगरेको उनले गुनासो पोखे । चैत्र १ गतेबाट आफु्हरुले आन्दोलन गर्ने, त्यसबाट पर्ने कठिनाई र जिम्मेवारी राज्यले लिन पर्ने उनले बताए । आजमात्रै सम्बन्धित मन्त्रालयमा गई मन्त्रीलाई ज्ञापनपत्र बुझाएर आएको उनले बताए ।
उनले हवाइ यातायातमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको २४ घण्टामा हवाई भाडा बढ्ने तर आफुहरुको नबढेको भन्दै आपत्ति जनाएको प्रेस विज्ञप्ती पढेर आजको कार्यक्रममा महासचिव भरत नेपालले बताए ।
प्रतिक्रिया