सोमबार, जेठ ६, २०८२

ग्लोबल आईएमई, राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइसबीच सम्झौता

नेपालखोज २०७८ फागुन २३ गते १७:११

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरूका लागि सहकारी पहिचान सहितको कोप कार्ड जारी गर्ने सम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमकाबिच ग्लोबल आईएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागार्इंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्ये नजर गर्दै सहकारीहरूले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथग्लोबल आईएमई बैंकको प्रायोजनमा कोप कार्ड जारी गर्न लागिएको हो । ग्लोबल आईएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत यसका सदस्य सहकारीहरूले कोप कार्ड जारी गर्नेछन् । यसका लागि एससिटीले चाइना युनियन पे (युपिआई) सँग सहकार्य गर्दै आएको छ ।

सहकारीका सबै सदस्यलाई सेवा पुर्याउँदै यसलाई अझ बढि प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरूलाई एउटै ब्रान्डको कोप कार्ड जारी गर्न लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका एटिएम, पिओएस मार्फत सहजै चलाउन सकिनेछ ।

यो सहकार्यपश्चात सम्पूर्ण सहकारीहरूले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन । यस सुविधाले सदस्यहरूको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र बित्तीय सेवा चौबीस घण्टा उपलब्ध हुनेछ । यो सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोबारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंकसम्म गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरूको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।

प्रतिक्रिया