शनिबार, असार १४, २०८२

के कोरोना फेरि फर्कंदै छ ? १२ लाख नयाँ संक्रमित, ४८८८ को मृत्यु

नेपालखोज २०७८ फागुन २५ गते १८:५३

काठमाडौं । अहिले नेपालसहित कतिपय देशमा कोरोनाका संक्रमित निकै घटेका छन् । यसको भय पनि कम भएको छ । यद्यपि संसारबाट कोरोना बिदा हुँदै छ भन्नेचाहिँ होइन । कोरोनाकै उद्‍गमस्थल चीनको वुहानसहित केही इलाकामा कोरोनाको प्रकोप फेरि बढ्न थालेको छिटपुट समाचार आइरहेकै बेला एकै दिन संसारमा कोरोनाका १२ लाखभन्दा बढी बिमारि देखा परेको समाचारले धेरैलाई चिन्तामा पारेको छ । अस्ति सोमबार अर्थात् ७ मार्चको तथ्यांकअनुसार उक्त दिनको संक्रमितको संख्या मात्र होइन ४८८८ जनाको मृत्यु पनि तर्साउने खालको थियो ।

यो तथ्यांकमा सबैभन्दा बढी प्रभावित देशमा दक्षिण कोरिया, भियतनाम, जर्मनी, रूस, ब्रिटेन तथा नेदरल्यान्ड देखापरेका छन् । दक्षिण कोरियामा एकै दिनमा कोरोनाका सबैभन्दा बढी २.१० लाख नयाँ संक्रमित फेला परेका छन् । उक्त अवधिमा त्यहाँ १३९ जनाको मृत्यु पनि दर्ता गरियो । यसैगरी भियतनाम मा १४७३५८ नयाँ संक्रमित पुष्टि भए भने ७८ जनाको मृत्यु भयो ।

त्यसका अतिरिक्त जर्मनीमा कोरोनाका १२२८९५ , रूसमा ७३,१६२ तथा नेदरल्यान्डमा ६४,४४१ नयाँ संक्रमित फेला परे । यसैगरी जापानमा ५५ हजार, यूकेमा ४२ हजार तथा अमेरिकामा २५ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भए । ब्राजिलमा पनि एकै दिनमा २० हजारभन्दा बढि संक्रमित पुष्टि गरिए ।

यता कोरोनाका कारण मानिसको मृत्यु हुने क्रम पनि रोकिएको छैन । चौबीस घण्टाको रेकर्डअनुसार संसारभर ४८८८ जना मानिसले कोरोनाका कारण ज्यान गुमाए । यसरी मृत्यु हुनेमा सबैभन्दा बढी रूसमा ६८८ जना छन् । त्यसपछि अमेरिकामा ५०८, इन्डोनेसियामा २५८ तथा ब्राजिलमा २११ जनाको मृत्यु दर्ता भएको छ ।

अहिलेसम्म संसारभर कोरोनाका ४४.८ करोड केस दर्ता गरिसकिएको छ भने ६० लाख मानिस मृत्युको सिकार भइसकेका छन् । यसैगरी अहिलेसम्म ३८ करोड मानिस कोरोना संक्रमित भएर पूर्णत: स्वस्थ भएका छन् ।

प्रतिक्रिया