विश्वकप लिग टू अन्तर्गत नेपालद्वारा पीएनजी २ विकेटले पराजित

काठमाडाैं । करण केसीले अन्तिम ओभरमा चौका र छक्का प्रहार गरेपछि विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ । यूएईको सारजाहँ रंगशालामा पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर भेट्टाएको हो ।
कमजोर सुरुआत गरे पनि रोहित पौडेल र आरिफ शेखले पाँचौं विकेटका लागि १ सय २ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालको जित सहज भएको हो । १५ ओभरभित्रै ४ विकेट गुमाएर संकटमा परेको नेपालको पारी उकास्न रोहित र आरिफले अर्धशतकीय योगदान गरे । म्यान अफ द म्याचसमेत बनेका रोहितले ५८ र आरिफले ५३ रन जोडेका हुन् । एकदिवशीय अन्तर्राष्ट्रियमा रोहितको यो चौथो र आरिफको पहिलो अर्धशतक हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ४ रनको योगफल खडा गरेको थियो । पीएनजीका चाल्र्स अमिनीले ५९ रन बनाएका थिए । बलिङमा सोमपाल कामीले ३ विकेट लिँदा कप्तान सन्दीप लामिछाने, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आरिफ शेखले १/१ विकेट लिए ।
प्रतिक्रिया