लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन सक्दैन : संस्कृतिविद् जोशी

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन् । आज ललितपुरमा आयोजित आफ्नो जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण समारोहमा बोल्दै संस्कृतिविद् जोशीले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिहरुबीचमा एकता ल्याउने बताए ।
उनले लोक संस्कृतिलाई हेला गरेर राज्य समावेशी बन्न नसक्ने बताए । लोक संस्कृतिले सबैलाई आफु नेपाली भएको भावना जागृत गराउने पनि उनले उल्लेख गरे । पत्रकार गिरीश गिरीले लेखेको जोशीको जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को आज एक कार्यक्रमका बिच ललितपुरमा लोकार्पण गरिएको । सो पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तक लोकार्पणपछि बोल्दै संस्कृतिविद् जोशीले आफुले आफुलाई नै चिन्न नसकेको भन्दै पुस्तकले सत्यमोहन जोशीलाई चिनाउन मद्दत गर्ने बताए ।
सो पुस्तकले नेपाली भाषा साहित्यको विकासमा सघाउ पुर्याउने पनि उनले बताए । पुस्तकका लेखक गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रका लागि गरेको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पुर्याउने उद्देश्यसहित पुस्तक लेखिएको बताए ।
जोशीलाई काठमाडौंभित्रका कला, संस्कृतिसँग मात्रै जोडेर साँघुरो रुपमा बुझ्नु नहुने भन्दै उनले जोशीले सिंगो राष्ट्रको कला, संस्कृतिको विकासका लागि योगदान दिएको उल्लेख गरे । पुस्तकमा सत्यमोहन जोशीको जिवनीका साथसाथै उनले राष्ट्रको कला र संस्कृतिको विकासमा खेलेको भूमिकाको समेत चर्चा गरिएको गिरीले बताए ।
प्रतिक्रिया