निर्वाचन आयोग पाँचदलीय खटपट मिलाउने काममा लाग्यो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको लागि मतपत्र हरियो बनाइएको विषयमा निर्वाचन आयोगको आलोचना गरेका छन् । इलाममा आयोजित जनसभामा आज पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेले लगाइदिएको सांसदको फुली लगाएर एमालेकै विरोध गरेको ओलीले आरोप लगाए ।
आइतबार खनालको निर्वाचन क्षेत्र फिक्कलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नुन र गुन बिर्सेर एमालेलाई गालि गरेको भन्दै त्यस्ताहरुलाई आगामी निर्वाचनमा जवाफ दिन निर्देशन दिए । उनले भने ‘एमालेले लगाएको सांसदको फुली बोकेर ? अनि फुकाल्नुपर्दैन त्यो ? अनि विचार गर्नुस् त कति सारो लाज नभएको होला ? कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिनुपर्छ । अनि एमालेको वाकस खाली गर्छौ भन्ने ? नुन विर्सने, गुन विर्सने स्वार्थका तत्वहरूलाई तपाईहरुले मुखभरीको जवाफ दिनुपर्छ ।’

उनले चुनावको मनोनयनका लागि दुई दिन समय दिइएकोमा पनि आयोगप्रति आशंका व्यक्त गरे । ओलीले कांग्रेसको चुनाव चिह्न रुखसँग रंग मिलाइदिएको आरोप लगाए । उनले भने, ‘रुखसँग रंग मिलाइदिएर चुनाव चिह्न दिने ? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? दलहरूसँग किन परामर्श गरिएन ? किन कांग्रेसको अनुकूल हुने गरी निर्णय भयो ? सूर्य हरियो हुन्छ कहीँ ?’
ओलीले मनोनयन दर्ताका लागि दुई दिन दिने प्रचलन विश्वमा कतै नभएको दाबी गरे । उनले भने, ‘सधैँ निर्वाचन आयोगले मनोनयन दर्ताका लागि एक दिन समय गर्थ्यो । यसपालि दुई दिन किन चाहियो ? पाँच दलीय गठबन्धनमा एक दिनमा कुरा नमिल्न सक्छ भनेर हो ? मनोनयनका लागि दुई दिन दिएको कहिँकतै देख्नुभएको छ ? विश्वभरि एकै दिन दिइन्छ । पाँच दलीय खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’
अध्यक्ष ओलीले नेकपा एमाले विकासका सम्बन्धमा सोच्ने र योजना बनाएर अघि बढ्ने पार्टी भएको भन्दै तीन बर्षको छोटो समयमा विकासका धेरै काम गरेको दाबी गरे । उनले भने, ‘एमाले विकासका बारेमा सोच्ने पार्टी हो, समय खेर फाल्ने पार्टी होइन ।’

ओलीले एमालेका कार्यकर्तामाथि नङ नगाड्न चेतावनी समेत दिए । उनले भने, ‘एमालेका कार्यकर्तामा नङ नगाडे हुन्छ । अलिकति टोकी हेरे हुन्छ, दाँत उछिट्टिन्छन् ।’
अध्यक्ष ओलीले केही शक्तिहरु नेकपा एमालेको वैचारिक क्षमता, सुशासनको नीति देखेर आतंकित भएको पनि बताए । एमालेको काम देखेर आतंकित बनेकाहरुले एमालेलाई सरकारबाट हटाएको भन्दै उनीहरुले कम्युनिस्टको बर्कोमात्रै ओढेको आरोप लगाए । उनले भने, ‘कम्युनिस्टकै वर्को ओढेका अन्तरे जन्तरे कम्युनिस्ट सरकार ढाल्न लागि परे ।’
ओलीले सुर्योदयमा सुर्यको जीत निश्चित भएको बताए । ओलीले सुर्यले जित्ने ठाउँ भएकै कारण ठाउँको नाम सुर्योदय भएको दाबी गरे । उनले सुर्यलाई जित हासिल गर्न जुनकिरीहरुको जस्तो मार्चाबन्दी गर्न आवश्यक नरहेको बताएका छन् । अध्यक्ष ओलीले भने, ‘सिङ्गो देश उज्यालो बनाउने सुर्य हामी छ, हामीले कोहिसँग मोर्चाबन्दी गर्न पर्दैन ।’
देश विकासमा एमाले नै नेतृत्वकर्ता भएको समेत उनले दाबी गरे । उनले इलामको बाटो विग्रिएको भन्दै चाँडै राजमार्ग सरह व्यवस्थित सडक निर्माण गर्ने बताए । इलामको नगदे बालीमा केहि समस्या देखिएको भन्दै अध्यक्ष ओलीले संरक्षण र बजारिकरणमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । ओलीले भने, ‘यहाँबाट जित्नेहरुले के काम गरे ? खोई केहि देखिएन त ।’



प्रतिक्रिया