आइतबार, पुष ६, २०८२

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

नेपालखोज २०७८ चैत ६ गते १६:०१

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार होटेल र्याडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

मिति २०७४/८/२८ देखि बिमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरेलगायत सञ्चालक सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेशबहादुर मल्ल, अपूर्वप्रसाद जोशी, अनिलप्रसाद श्रेष्ठ र डा. विमला दाहाल रेग्मी छन् ।

सभाले समूह ‘क’ संस्थापक समूहका सेयरधनीका तर्फबाट सञ्चालक डा. विमला दाहाल रेग्मी एवं स्वतन्त्र सञ्चालक अनिलप्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ । साथै कम्पनीको नियमावलीअनुसार समूह ‘ख’ का सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचनबाट शंकर गौतम तथा दीपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष ०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरुसमेत पारित गरेको छ ।

प्रतिक्रिया