मोरङको लेटाङमा जारी कर्फ्यू आजदेखि खुकुलो

मोरङ । मोरङको लेटाङमा जारी कर्फ्यू आजदेखि केही खुकुलो पारिएको छ । जिल्ला सुरक्षा समितिले लेटाङको अवस्था सामान्य बन्दै गएपछि कर्फ्यूलाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको हो ।
लेटाङमा अवस्था तनावग्रस्त बनेपछि लेटाङमा प्रशासनले कर्फ्यू जारी गरेको थियो । जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले अर्को आदेश नआएसम्मका लागि बिहान ६ बजेदेखि १० बजेसम्म खुला गरेर १० बजेदेखि अपराह्न ४ बजेसम्म कर्फ्यू लगाउने र ४ बजेदेखि बेलुका ६ बजेसम्म खुलाएर फेरि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।
लेटाङ–५ खेरुवाका शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा उत्पन्न विवादमा आइतबार स्थानीयबासिन्दा र प्रहरीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि लेटाङमा कर्फ्यू लगाइएको थियो ।
शिक्षक मनोज पौडेलले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । यस अघि पनि शिक्षक पौडेलले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । तर, पटक पटक उनलाई कारबाही हुनबाट जोगाएको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका थिए ।
प्रतिक्रिया