बुधबार, जेठ १, २०८२

तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार छ : जेलेन्स्की

नेपालखोज २०७८ चैत १४ गते ७:५२

काठमाडाैं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन् । तर त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उनले बताएका छन् ।

जेलेन्स्कीको भनाइ स्वतन्त्र रुसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा आएको हो । पूरा समय रुसी भाषामा बोलेका उनले रुसी हमलाले युक्रेनको रुसी भाषा बोलिने सहरहरू ध्वस्त पारेको बताएका थिए।

युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसैसाता टर्कीमा हुँदैछ । युक्रेनमा रुसी भाषाको प्रयोगबारे शान्तिवार्तामा कुरा भएको जेलेन्स्कीलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ ।

तर निःशस्त्रीकरण हुनुपर्नेजस्ता रुसी माग भने युक्रेनले अस्वीकार गरेको उनले बताए । जेलेन्स्कीले भने सुरक्षाको प्रभावकारी सुनिश्चितता अनिवार्य विषय रहेको बताएका छन् । उनले भने, ‘अवश्य हाम्रो लक्ष्य देशमा सक्दो छिटो शान्ति र जनजीवन सामान्य अवस्थामा फर्कियोस् भन्ने छ ।’

आंशिक रूपमा रुस पक्षधर पृथकतावादीहरूले नियन्त्रण गरिराखेको डोनबास क्षेत्रमा समेत आफूले सम्झौता गर्न सक्ने उनले जनाएका छन् । ९० मिनेट लामो भिडिओ अन्तर्वार्तामा जेलेन्स्कीले भने, ‘मलाई थाहा छ रुसलाई युक्रेनी भूभागबाट पूरै बाहिर निकाल्न असम्भव छ । त्यसले तेस्रो विश्वयुद्धतिर डोर्‍याउँछ । मैले यही बुझेरै सम्झौताको कुरा गरिरहेको छु ।’

युक्रेनले रुससँगको शान्तिवार्ताको अर्को चरणमा आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम गर्ने कुरामा जोड दिने जेलेन्स्कीले बताएका छन् । युक्रेनको सैन्य गुप्तचरी निकायका प्रमुखले रुसले ‘युक्रेनमा उत्तर र दक्षिण कोरिया सिर्जना गर्न खोजेको’ बताएका छन् । बीबीसी

प्रतिक्रिया