उपकार लघुवित्तले दुई करोड ३६ लाखको साधारण सेयर जारी गर्ने

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । संस्थाले यही चैत्र २५ गतेबाट हाल कायम रहेको जारी पुँजी छ करोड ५६ लाख २५ हजार रुपैयाँ मध्येबाट ३६ प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी दुई लाख ३६ हजार दुई सय ५० कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
सेयर निष्काशन तथा विक्री प्रवर्द्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको संस्थाको साधारण सेयरको बिक्री कार्य छिटोमा यही चैत्र २९ गते र ढिलोमा वैशाख नौं गते बन्द हुनेछ । बिक्री गरिने कुुल सेयर मध्येमा शुन्य दशमलव पाँच प्रतिशत अर्थात् तीन हजार दुई सय ८१ कित्ता सेयर कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात ११ हजार आठ सय १३ कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको दुई लाख २१ हजार एक सय ५६ कित्ता सेयर सर्वसाधारण बिक्री गरिने संस्थाले जानकारी दिएको छ ।
अधिकृत पुँजी आठ करोड एवं जारी पुँजी छ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी हाल चार करोड २० लाख रुपैंयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने संस्थाको चुक्ता पुँजी छ करोड ५५ लाख २५ हजार रुपैयाँ पुग्ने छ । सर्वसाधारणहरुले न्युनतम १० देखि अधिकतम एक सय कित्तासम्मको सेयर खरिद गर्नको लागि आवेदन दिन सक्ने छन् ।








प्रतिक्रिया