प्रोग्रेशिभ फाइनान्सले शून्य दशमलव ३१ प्रतिशत लाभांश दिने

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बुधबार २५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिकातर्फबाट प्रतिवेदन पस गर्दै संस्थाले आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारे ।
उनले चालु आर्थिक वर्षमा संस्थाले संचालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले संचालनगर्ने कार्यक्रम तथा योजनाहरुहरुबारे जानकारी दिए । साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिँदै अध्यक्ष किशोर कुमार महर्जनले संस्था अपेक्षित रुपले प्रगति पथमा लम्किरहेको जानकारी गराए ।
उनले सेयरधनीहरुबाट प्राप्त सल्लाह तथा सुझावहरुको सराहना गर्नुभयो तथा आगामी दिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे । सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट छ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ शून्य दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै साधारण सभाले आर्थिक वर्ष २०७७/७८को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ का निम्ति बाह्य लेखापरीक्षकका रुपमा रन्जीव एन्ड एशोसिएट्स,चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै संस्थाको साधारण सभाले मर्जर तथा एक्वीजिशनका निम्ति बैक तथा वित्तीय संस्थाहरुबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सो सम्बन्धी सम्पूर्ण प्रकृया पुरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गरेको छ । संस्थाले हाल १६ वटा शाखा कार्यालय तथा पाँचवटा एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ ।
साथै संस्थाले चालू आर्थिक वर्षमा पनि व्यवसाय तथा कार्यक्षेत्र विस्तार गर्ने क्रममा थप शाखा तथा एक्सटेन्सन काउन्टरहरु स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको छ ।








प्रतिक्रिया