सोमबार, असार ९, २०८२

म्यानको अध्यक्षमा उपेन्द्र पौडेल र महासचिवमा मोहन ओझा निर्विरोध निर्वाचित

नेपालखोज २०७८ चैत ३० गते १६:०१

काठमाडौं । नेपाल व्यवस्थापन संघ म्यानको अध्यक्षमा उपेन्द्र पौडेल निर्विरोध निर्वाचित भएका छन् । म्यानको आज भएको पदाधिकारी निर्वाचनमा अध्यक्ष पदका लागि पौडेलको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि भएको म्यानको सदस्य पदको निर्वाचनमा पौडेलले सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका थिए । म्यानको विधान अनुसार अधिवेशनबाट सदस्य पदमा निर्वाचित भएपछि उक्त सदस्यहरुबाटै पदाधिकारी चयन गरिने व्यवस्था छ ।

यसैगरी म्यानको प्रथप उपाध्यक्षमा पनि सुरेन्द्र गोयल निर्विरोधन निर्वाचित भएका छन् । तर द्धितिय उपाध्यक्षमा भने अस्मी राणा र अनु जोशीको उम्मेदवारी परेकाले निर्वाचन हुने भएको छ । यसैगरी महासचिवमा मोहन ओझा निर्विरोध निर्वाचित भएका छन् । उक्त पदमा पनि एक जनाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी कोषाध्यक्षमा हेमा अधिकारी निर्विरोध निर्वाचित भएकी छिन् । म्यानको सदस्यहरु भने यस अघि नै चयन भैसकेको थिए ।

म्यानको अध्यक्षमा आइतबार नै पौडेल निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी रमण नेपाल कार्यसमिति सदस्यमै पराजित भएपछि पौडेल अध्यक्षमा चुनिएका हुन् । म्यानमा पहिला कार्यसमिति सदस्यहरूको निर्वाचन गर्ने र निर्वाचित सदस्यहरूले अध्यक्षसहित पदाधिकारीहरू चयन गर्ने विधानतः व्यवस्था छ ।

म्यानको आगामी कार्यकालका लागि अध्यक्ष पदमा पौडेल र नेपाल प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । आइतबार भएको निर्वाचनमा पौडल पक्षधर सदस्यहरू बढी निर्वाचित भएका थिए । बैंकर पौडेल नबिल बैंकका अध्यक्ष समेत हुन् ।

म्यानको कार्यसमिति सदस्यहरूमा व्यक्तिगततर्फ पौडेलसहित मोहनराज ओझा, प्रद्युम्न पोखरेल, कृष्णप्रसाद शर्मा, आशा राणा अधिकारी, अश्मि राणा, मेहकुमारी अधिकारी, मिलन गुरुङ, इन्द्रकुमार श्रेष्ठ, मनीष झा र अनु जोशी श्रेष्ठ निर्वाचित भएको म्यानले जनाएको छ । यस्तै, संस्थापकतर्फ कर्मचारी सञ्चय कोष, शिवम् सिमेन्ट, सनराइज बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक विजयी भएका छन् ।

प्रतिक्रिया