युक्रेनलाई हतियार नदिन रुसको चेतावनी
‘हतियार सहयोग जारी राखे नसोचेको परिणाम भोग्नु पर्ने’

मस्को । रुसले औपचारिक रूपमा संयुक्त राज्य अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । उक्त चेतावनी मस्कोले एउटा कूटनीतिक नोटको माध्यमबाट दिएको छ । नोटको प्रतिलिपिलाई अमेरिकी सञ्चारमाध्यमहरूले परीक्षण गरेका छन्।
दुई पृष्ठको कूटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डिसीस्थित दूतावासले उपलब्ध गराएको थियो । त्यसमा अमेरिका र नेटोलाई हतियार सहयोगले युक्रेनको द्वन्द्व थप चर्काइरहेको र त्यसले भविष्यवाणी गर्न नसकिने परिणाम निम्त्याउन सक्ने बताइएको छ ।
युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बाहिर आउन थालेपछि उक्त नोट रुसले पठाएको हो । त्यसको केही घण्टापछि अमेरिकी राष्ट्रपति बाइडनले आठ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगलाई अनुमोदन गरेका थिए ।
जसमा पहिलो पटक लामो दूरीमा पनि निशाना लगाउनसक्ने होविटजर्सजस्ता हतियार थिए । पछिल्लो सैन्य सहायताको प्याकेजमा हतियारहरू, ड्रोन, बख्तरबन्द गाडीहरू र हेलिकोप्टरहरू पनि छन्। त्यसलाई युक्रेनको सामथ्र्यलाई त्यहाँ देखिएका रुसी सैन्य क्षमतासँग बराबरी गर्ने कदमका रूपमा लिइएको थियो ।
एक जना वरिष्ठ अमेरिकी अधिकारीलाई उदृतत गरिए अनुसार उक्त चेतावनीलाई अमेरिका र नेटोद्वारा युक्रेनमा उपलब्ध गराइएको सैन्य सहयोग प्रभावकारी बनिरहेको मस्कोको चिन्ताका रूपमा हेरिनुपर्छ । अमेरिकाले उपलब्ध गराउने भनेको सैन्य सहयोगको पहिलो किस्ता केही दिनपछि युक्रेन पुग्नेछ ।
रुसले हाल युक्रेनको पूर्वी भेगमा आफ्नो कारबाहीलाई केन्द्रित गरेको छ । केही दिन डोनबास क्षेत्रमा लडाइँ चर्कने ठानिएको छ । युद्ध सुरु भएयता अमेरिकाले तीन अर्ब डलर बराबरको सैन्य सहयोग युक्रेनलाई उपलब्ध गराएको छ । युरोपेली देशहरूले पनि युक्रेनलाई शक्तिशाली किसिमका हतियारहरू उपलब्ध गराउँदै आएका छन्।
यससैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि परमाणु अस्त्रबाट आक्रमण गर्ने सम्भावनातर्फ विश्व तयार हुनुपर्ने बताएका छन्। अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको अन्तरवार्तामा जेलेन्स्कीलाई रुसले रणनीतिक परमाणु अस्त्र आक्रमणमा प्रयोग गर्नसक्ने अमेरिकी गुप्तचर निकायका निर्देशकको हालको चिन्ताबारे प्रश्न सोधिएको थियो ।
उनले भने, ‘म मात्रै होइन, सबै विश्व र सबै देशहरू चिन्तित हुनुपर्छ किनभने यो वास्तविक सूचना मात्रै नभएर वास्तविकता नै पनि हुन सक्छ ।’ ’हामी डराएर हुँदैन भन्ने सोच्नुपर्छ तर हामी तयार रहनुपर्छ । यो युक्रेनको प्रश्न होइन र युक्रेन मात्रैका लागि प्रश्न होइन । यो सम्पूर्ण विश्वका लागि प्रश्न हो भन्ने मलाई लाग्छ । ’
उनलाई रुसको प्रतिष्ठित नौसैनिक पानीजहाज मस्कोभा डुबेकोबारे पनि सोधिएको थियो । त्यसमाथि दुईवटा युक्रेनी क्षेप्यास्त्रबाट हमला गरिएको विवरणबारे उनले प्रस्ट बोलेनन्। उनले भने, ‘हामीलाई थाह छ अब त्यो अस्तित्वमा छैन । हाम्रो लागि त्यो हाम्रो देशविरुद्ध एउटा बलियो अस्त्र थियो त्यही भएर त्यो डुब्नुमा हामी दुखी छैनौँ । हामीलाई आक्रमण गरेको रुससँग जति कम अस्त्र हुन्छ, हाम्रो लागि त्यति नै राम्रो हो ।’
यसैबीच युक्रेनी प्रहरीले हालै रुसी अतिक्रमणबाट मुक्त भएका किएभको उत्तर(पश्चिममा रहेका नगरहरूबाट नौसय गैरसैनिकका शव फेला परेको जनाएको छ । त्यसमध्ये ३५० बुचा नगरमा मात्रै फेला परेका थिए ।क्षेत्रीय प्रहरी प्रमुख एन्ड्री नेभीटोभले उनीहरूमध्ये लगभग सबैलाई रुसी सैनिकले गोली हानी मारिदिएको बताए । कतिपयलाई सामूहिक रूपमा गाडिएको थियो अरूको शव चोकका विभिन्न ठाउँमा फेला परका थिए।
फरेन्सिक अनुसन्धानकर्ताहरूले मृतकको पहिचान खुलाउन र सम्भावित युद्ध अपराधको प्रमाण जुटाउन काम गरिरहेका छन्। किएभलाई घेराबन्दी गर्ने रुसको क्रूर तर असफल प्रयासअन्तर्गत बुचा र अरू नगरहरू कब्जामा लिइएका थिए। बीबीसी
प्रतिक्रिया