आइतबार, पुष ६, २०८२

निजी सवारी आयातमा केही समयका लागि मात्रै कडाई : अर्थमन्त्री शर्मा

नेपालखोज २०७९ वैशाख ४ गते २१:२७

काठमाडौं । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले अर्थमन्त्री जनार्दन शर्मासंग भेट गरेको छ । मन्त्री शर्माले निजी सवारीसाधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिए ।

अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको उनले बताए । अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको पनि उनले बताए । यो गलत रहेको भन्दै उनले उपस्थित नाडा प्रतिनिधिहरुलाई संस्थागत ढङ्गले नै अर्थतन्त्रको वास्तविक अवस्थाबारे प्रकाश पार्न पनि आग्रह गरे ।

उक्त भेटघाटमा अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गर्दै तीन खबै ५० अर्वभन्दा बढीको लगानी रहेको, हरेक बर्ष एक खर्ब ५० अर्वभन्दा बढी राजश्वमा योगदान पुर्‍याउदै आएको र देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजार भन्दा बढीलाई अवसर दिएको बताए । सोही क्रममा अध्यक्ष थापाले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय निकायहरुले गरिरहेको अवरोध खुलाउन आग्रह गरेका थिए ।

त्यसैगरी उनले काठमाडौंमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरुको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाव रहेको हुँदा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनी स्थलको निर्माणका लागि बजेट विनियोजन गरि दिनसमेत अनुरोध गरेका थिए ।

उक्त छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनहरुको आयात बन्द हुँदा देशमा पर्न सक्ने असरहरुबारे विस्तृतरुपमा जानकारी गराए । त्यसैगरी सो छलफलमा अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सिमानाकाहरुबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गरेका थिए ।

प्रतिक्रिया