मंगलबार, वैशाख १८, २०८१

सर्वाधिक गर्मी हुने १० स्थान !

नेपालखोज २०७९ वैशाख ८ गते १२:१९

काठमाडौं । गर्मीको मौसम । विश्वका विभिन्न क्षेत्रमा बसोबास गर्ने मानिसहरु गर्मीको सामना गर्दै दैनिक चलाउन बाध्य छन् । अत्यधिक गर्मीका कारण मानिसहरु बेहोस र बिरामी हुने अवस्थासम्म पुगेका उदाहरण छन् । प्रायः मानिसलाई ४२ देखि ४४ डिग्री सेल्सियसको तापक्रममा निस्किन गाह्रो हुन्छ । तर विश्वमा ७० डिग्री सेल्सियससम्म तापक्रम भएका देशहरु पनि छन् । वैशाख र जेठ महिना गर्मी उच्चतम् विन्दुमा पुग्ने महिना हुन् । इरानको दश्त एलुतमा, अमेरिकाको डेथ भ्याली, सुडानको वदी हाल्फा, लिबियाको अजिजियाहलगायत विश्वका अत्याधिक गर्मी हुने ठाउँ मानिन्छन् । हेरौं विश्वमा सर्वाधिक गर्मी हुने १० स्थान :

डेथ भ्याली, क्यालिफोर्निया
धर्तीमा सबैभन्दा गर्मी हुने ठाउँमध्ये एक ह‍ो क्यालिफोर्नियाको डेथ भ्याली । त्यसै पनि यसको नाम नै भयानक छ त्यसमाथि तापमान उखरमाउलो रहन्छ । यहाँको अधिकतम तापमानको रेकर्ड १० जुलाई १९१३ मा बनेको थियो । त्यो दिन डेथ भ्यालीको फरनेस क्रिक नामको स्थानमा तापक्रम ५६.७ डिग्री सेल्सियस पुगेको थियो । अहिले यहाँ ३७ देखि ४० डिग्रीबीच तापक्रम रहन्छ । यहाँ बढी गर्मी हुने चार प्रमुख कारण छन्- पहिलो सूर्यको ताप, दोस्रो तातो हावाको निकास नहुनु, आसपासको मरुभूमिबाट आउने हावा तथा पहाडहरु तातेर जलका स्रोतहरुबाट निस्कने ह्युमिडिटी ।

फ्लेमिङ माउन्टेन, चीन
चीनको सिनजियाङ प्रान्तको तियान शानस्थित रात‍ो ढुंगाको पहाडलाई फ्लेमिङ माउन्टेन पनि भनिन्छ । यो टकलामाकेन मरुभूमिको उत्तरी भाग हो । यो पहाड सय किलोमिटर लामो तथा ५ देखि १० किलोमिटर चौडा छ । यहाँ गर्मीमा तापमान ५० डिग्री सेल्सियससम्म पुग्छ । चीन सरकारले यहाँको तापमान नाप्न देशकै सबैभन्दा ठूलो थर्मामिटर लगाएको छ । भनिन्छ २००८ मा यहाँको तापमान ६६.८ डिग्री सेल्सियस पुगेको थियो यद्यपि त्यसको आधिकारिक पुष्टि भएको छैन ।

लुट मरुभूमि, इरान
दश्त-ए-लुटको नामले प्रसिद्ध यो ठाउँ युनेस्को वर्ल्ड हेरिटेज साइटमा दर्ता छ । संसारको ३४औं ठूलो यो मरुभूमि ४८० किलोमिटर लामो तथा ३२० किलोमिटर चौडा छ । यो रेगिस्तानमा जीवन नामको कुनै कुरा पाइँदैन न बोट बिरुवा न जीवजन्तु । नासाक‍ाएक्वा स्याटेलाइटले यो रेगिस्तानको सतहको तापमान सन् २००३ देखि २०१० सम्म रेकर्ड गरेको थियो । त्यसमा जुन तापमान देखियो त्यो डरलाग्दो थियो । स्याटेलाइटको रेकर्डमा त्यहाँको अधिकतम तापक्रम ७०.७ डिग्री सेल्सियस दर्ता भएको थियो ।

सहारा मरुभूमि, अफ्रिका
अफ्रिकास्थिति सहारा मरुभूमिको औसत तापमान ३५ देखि ४२ डिग्री सेल्सियसबीच रहन्छ । यहाँ पानी पर्दैनभन्दा हुन्छ अर्थात् वर्षभरमा ११०० मिलिमिटरभन्दा कम । यहाँको अधिकतम तापमान ५८ डिग्री सेल्सियस सम्म पुगेको छ जबकि, यसको सतहको तापमान अधिकतम ७६ डिग्री रेकर्ड गरिएको छ । जाडोमा यहाँको तापमान माइनस ६ सम्म पुग्छ । चिसो मौसममा सहारा मरुभूमिमा भएका पहाडका टुप्पामा हिउँसमेत देखिन्छ । सहारा संसारक‍ो सबैभन्दा ठूलो र तात‍ो मरुभूमि ह‍ो । करिब ९२ लाख वर्गकिलोमिटर क्षेत्र ओगटेक‍ो सहारा मरुभूमि पृथ्वीको ८ प्रतिशत भूभागमा फैलिएको छ ।

ल अजिजिया, लिबिया
यो लिबियाको उत्तर-पश्चिमस्थित सानो क्षेत्र हो । जाफरा जिल्लामा पर्ने यो ठाउँ गर्मीका लागि प्रसिद्ध छ । यहाँको औसत तापमान ३५ देखि ४० डिग्री हो । यहाँ ५८ डिग्री सेल्सियससम्म तापक्रम रेकर्ड गरिएको छ ।

सोनोरन मरुभूमि, अमेरिका
अमेरिकादेखि उत्तरी मेक्सिकोसम्मको यो मरुभूमिका दुई कुरा खतरनाक हुन्छन् पहिलो गर्मी र अर्को यहाँ पाइने क्याक्टस । एरिजोना प्रान्तको यो क्षेत्रक‍ो औसत तापमान ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियससम्म हो । यहाँ वर्षभरिमा १०० देखि ३०० मिलिमिटर मात्र पानी पर्छ ।

बैंकक, थाइल्यान्ड
थाइल्यान्डको राजधानी बैंककको गर्मी पनि भयानक हुन्छ । यो सहर कहिले पनि धेरै तातो हुँदैन तर यहाँ वर्षभर गर्मी रहन्छ । राति पनि तापक्रम धेरै तल आउँदैन । क्रंङ थेप महा नखोन नामले प्रसिद्ध ठाउँमा वर्षभर ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहन्छ । समुद्रको किनार तथा जंगल भएका कारण यहाँको ह्युमिडिटी निकै बढी हुन्छ ।

कुवेत सिटी, कुवेत
संसारकै सबैभन्दा तात‍ो सहरमध्ये एक ह‍ो कुवेत सिटी । ४० लाख मानिस बस्ने यो सहरमा गर्मी सिजनमा औसत तापमान ४६ डिग्री सेल्सियस रहन्छ । यहाँ हालै अधिकतम तापक्रम ५३.२ डिग्री सेल्सियस पुगेको थियो ।

डलोल, इथियोपिया
निकै सुदूर तथा इथियोपियाक‍ो उत्तरस्थित डलोल एउटा सानो गाउँ हो जुन आफ्नो तापमानका कारण चिनिन्छ । यहाँ औसत तापमान ४१.२ डिग्री सेल्सियस हुन्छ भने अधिकतम ४९ डिग्री सेल्सियस सम्म पुग्छ ।

अमेजन
धर्तीको फोक्सो मानिने यो क्षेत्र बाक्लो जंगलका कारण सु-प्रसिद्ध छ । ठूला नदीहरु भए पनि यहँ ह्युमिडिटी पनि धेरै रहन्छ । यहाँको तातो हावा फोक्सोसम्मै महसुस हुन्छ । अमेजनको औसत तापमान २६ डिग्री सेल्सियस हो भने यहाँ ४५ डिग्री सेल्सियससम्म गर्मी हुन्छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया