सोमबार, पुष ७, २०८२

के युक्रेनी बन्दरगाह सहर मारिऊपोल रुसी कब्जामा पुग्न लागेको हो ?

नेपालखोज २०७९ वैशाख ८ गते ७:५७

काठमाडाैं । घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह सहर मारिऊपोल रुसको नियन्त्रणमा जाने सम्भावना बढ्न थालेका विवरण आइरहेका छन् । मारिऊपोललाई लिएर रुससँग निःशर्त ‘विशेष चरणको वार्ता गर्न’ आफूहरू तयार रहेको युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले बताएका छन् ।

‘आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइते लगायतलाई बचाउन आफूले वार्ताको प्रस्ताव गरेको’ भन्दै उनले ट्वीट गरेका छन् । लडाइँका कारण हप्तौँदेखि फसिरहेका कतिपय मानिसहरू बुधवार मारिऊपोलबाट निस्कन पाएका छन् ।

तर सुरक्षित रूपमा निस्कन पाएका मानिसहरूको सङ्ख्या अपेक्षा गरिएको भन्दा निकै नै कम रहेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रुसी गणतन्त्र चेचन्याका नेता रमजान कादिरोभले बिहीवार दिउँसोसम्म रुसले मारिऊपोललाई नियन्त्रणमा लिइसक्ने बताएका छन् ।

एकजना युक्रेनी मरिन कमाण्डरले आफूहरू अपर्याप्त सङ्ख्यामा रहेको, आपूर्तिका सामान सकिरहेको र ‘अन्तिम दिन अथवा घण्टामा’ पुगेका बताएका छन् ।

आठ साताअघि अतिक्रमण थालेको रुसले मारिऊपोललाई नियन्त्रणमा लिनसके त्यो उसको कब्जामा पुग्ने सबैभन्दा ठूलो युक्रेनी शहर हुनेछ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले मारिऊपोलको अवस्थालाई ‘साँच्चिकै डरलाग्दो’ भनेका छन् । उनले बाहिर निस्कन सक्ने सबैलाई मानव निकासमार्ग भएर निस्किहाल्न अपीलसमेत गरेका छन् । बीबीसी

प्रतिक्रिया