राष्ट्रसंघ जुर्मुरायो : युद्ध अन्त्यको पहल गर्न महासचिव गुटरेस रुस र युक्रेन जाने

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस युद्ध अन्त्यको पहल गर्न रुस र युक्रेन जाने भएका छन् । गुटेरेस अप्रिल २६ तारिख रुस जाने र २८ तारिख युक्रेन जाने तय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । गुटरेसलाई दुबै देशमा राष्ट्रपतिले स्वागत गर्नेछन् ।
रुसमा गएका बेला उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्ने जनाइएको छ । महासचिव गुटेरेसका सहायक प्रवक्ता एरि कानेकोले दुवै जनासँग वार्ताका लागि उनी मस्को जान लागेको पुष्टि गरेका छन् । दुवै जनासँग एकै दिन भेटवार्ता हुने पनि उनले स्पष्ट पारेका छन् ।
त्यसपछि गुटरेस युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । ‘युक्रेन भ्रमणका लागि पनि महासचिवले तयारी गरेका छन्,’ सहायक प्रवक्ता कानेकोले भने । गत मंगलबार महासचिव गुटेरेसले चार दिन बिदा दिन दुबै पक्षलाई अनुरोध गरेका थिए ।
उनले शान्ति प्रक्रिया अगाडि बढाउनका दुवै देशका उच्च अधिकारीहरूलाई अनुरोध गरी वार्तामार्फत विवाद अन्त्य गर्न पहल गर्ने जनाइएको छ । युक्रेनमा गुटरेसले राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीलाई र विदेश मन्त्री दिमित्रो कुलेबालाई भेट्ने कार्यक्रम छ ।
प्रतिक्रिया