आइतबार, वैशाख २८, २०८२

फोर्ब्स अर्बपतिद्वारा ४४ अर्ब डलरमा ट्विटर किन्ने सहमति

नेपालखोज २०७९ वैशाख १३ गते ७:०९

काठमाडाैं । सामाजिक ट्विटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्द कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाएका थिए ।

उनले त्यसबेला ट्विटरमा ‘व्यापक सम्भावना’ रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए । उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका थिए ।

कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो । तर अब उसले सेरधनीहरूलाई सम्झौता अनुमोदनका लागि मतदान गर्न आग्रह गर्नेछ ।

फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ ।

उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य सेयरधनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उनले नै नेतृत्व गर्छन् ।

उक्त सम्झौताको घोषणा गर्दै मस्कले भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता कार्यात्मक लोकतन्त्रको आधार हो र ट्विटर एउटा डिजिटल सहरको चोक हो, जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरूको बहस गरिन्छ।’

‘नयाँ सुविधा थप्दै, विश्वास बढाउन अल्गोरिदमहरूलाई खुला गर्दै, स्प्याम बटहरूलाई पराजित गर्दै र सबै मानिसहरूलाई प्रमाणित गर्दै म पनि ट्विटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहन्छु,’ उनले भनेका छन् । ‘ट्विटरमा व्यापक सम्भावना छ- त्यो सम्भावनालाई उजागर गर्न म कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न म तत्पर छु ।’ बीबीसी

प्रतिक्रिया