सोमबार, पुष ७, २०८२

मारिऊपोलस्थित स्टिल उद्योगमा फेरि हमला भएको युक्रेनकाे दाबी

नेपालखोज २०७९ वैशाख २० गते ७:५४

काठमाडाैं । युक्रेनका एक अधिकारीले मारिऊपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारणलाई अन्यत्र लैजान बाँकी रहे पनि त्यहाँ रुसले पुन: हमलाहरू थालेको बताएका छन् ।

न्याश्नल गार्डका कमाण्डर डेनिस श्लेगाले सोमबार एजोभस्टाल स्टिल उद्योगमा ‘सबै किसिमका अस्त्रहरूले’ आक्रमण गरिएको बताएका हुन् ।

आइतबार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका थिए । तर कमाण्डरका अनुसार ‘स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कयौँ साना बालबालिकाहरू’ रहेका छन् ।

युक्रेनको टेलिभिजनमा बोल्दै ती कमाण्डरले सर्वसाधारणलाई अन्यत्र जानका लागि निस्किए लगत्तै उक्त उद्योगमा रुसले पुन: बमबारी थालेको बताएका हुन् ।

दक्षिणी बन्दरगाह सहरमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो । सोमबार साँझ बाहिरिएका भिडिओमा एजोभस्टालमा ठूलो आगो लागेको देखिन्छ जसलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले रुसी बमबारीका कारण भएको बताएका छन् ।

स्टिल उद्योगबाट उद्धार गरिएको पहिलो समूह सोमबार युक्रेन नियन्त्रित जापोरिझिया सहरमा पुग्ने ठानिएको थियो । तर उक्त सहरमा रहेकी बीबीसीकी लोरा विकरका अनुसार उद्धार प्रयासमा ढिलाइ भएको थियो । के कारण ढिलाइ भएको भन्ने स्पष्ट नरहेको बताइएको छ ।

गाडीका लस्करहरू जाने क्रम मै रहे पनि ती बसहरूले सयौँ माइलको दूरी पार गर्नुपर्नेछ र केही भागमा सडक कच्ची छ। ती बसहरूले बाटोमा थुप्रै रुसी जाँचचौकी पार गर्नुपर्नेछ ।

संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रसले सर्वसाधारणलाई उद्धार गरेर अन्यत्र लानका लागि सहायता गरेका थिए।

रुसले उद्धार गरिएका केहीलाई मस्को समर्थित पृथकतावादीले नियन्त्रणमा राखेको गाउँमा पुर्‍याइएको जनाएको छ। तर सरकारी सञ्चारमाध्यमले भने उनीहरूले चाहेमा युक्रेनको भू-भागमा यात्रा गर्नसक्ने जनाएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब १०० सय जना जापोरिझिया सहरतर्फ गइरहेको भन्ने समाचारको स्वागत गरेका थिए । मारिऊपोलबाट १४० माइल उत्तर-पश्चिममा उक्त सहर रहेको छ । बीबीसी

प्रतिक्रिया