मंगलबार, वैशाख १८, २०८१

सातामा ७ अर्बको सेयर कारोबार

नेपालखोज २०७६ फागुन ३० गते ९:४१

काठमाडौं । सातामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ अर्ब बढीको कारोबार भएको छ । दुई साताअघिसम्म निरन्तर बढेर १ हजार ६३२ को बिन्दु पार गरेको सेयर बजार पछिल्लो दुई साता यता २५५ अंकले घटेर १ हजार ३७७ को बिन्दुमा झरेको छ ।

साताभरि १८७ कम्पनीको ७ अर्ब ७१ करोड ११ लाख २ हजार ३५४ रुपैयाँबराबरको १ करोड ९७ लाख ३५ हजार ५९२ कित्ता सेयर कारोबार भएका छन् ।

बजार पुँजीकरण ७१ अर्ब ५९ करोडले घटेर १७ खर्ब ६१ अर्ब २५ करोड ९० लाख ४० हजार पुगेको छ । गत साता १९० कम्पनीको १६ अर्ब २१ करोड बढीका ३ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएका थिए । बजार पुँजीकरण गत साता १८ खर्ब ३२ अर्ब ८५ करोड ५६ लाख पुगेको थियो ।

साताभरि तीन दिनका लागि खुलेको सेयर बजारमा बुधबार मात्रै ७३ दशमलव ७८ अंकले बढेको हो । साताको दुई दिन आइतबार र सोमबार सार्वजनिक बिदा हुँदा कारोबार बन्द भएको थियो ।

साताको तेस्रो दिन मंगलबार मात्रै ८६ दशमलव ३८ अंकले घटेको बजार बिहीबार ४५ दशमलव ९१ अंकले घटेको हो । यस साता नेप्से सूचक ५८ दशमलव ५२ अंकले घटेर १ हजार ३७७ दशमलव १८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

यस साता कारोबारमा आएको सबै उपपरिसूचक घटेका छन् । सातामा सबैभन्दा बढी जीवन बिमा समूह घटेको छ । जीवन बिमा ४८९ दशमलव २५ अंकले घटेको हो ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक यस साता १२ दशमलव २१ अंकले घटेर २९५ दशमलव ५१ अंकको बिन्दुमा आइपुगेको छ ।

प्रतिक्रिया