राठी बने एनआईसी एसियाको नायब प्रमुख कार्यकारी अधिकृत

काठमाडौं । एनआईसी एसिया बैंकले सन्तोषकुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकका अनुसार यही जेठ ८ गते बसेको सञ्चालक समितिको ५४५औं बैंठकले राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका उनलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६÷०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम बैंकको सञ्चालक समितिले मिति २०७९ श्रावण १ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
२०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एसिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिस्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन । समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गर्नुभएका राठीलाई अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणमा पुर्याएको अतुलनीय योगदानको कदर एवं उच्च मूल्याङ्कन गर्दै बैंकले वहाँलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।
नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनको यो नियुक्तिले बैंकले आगामी दिनमा अझ उन्नत उचाई हासिल गर्ने बैंक व्यवस्थापनले विश्वास लिएको विज्ञप्तिमार्फत जनाएको छ ।








प्रतिक्रिया