तलबी खाता र पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बिमा कम्पनी लिमिटेड बिच तलबी खाता तथा पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बिमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता भएपश्चात दुई वर्ष सेवाअवधि पूरा गरेका पुनर्बिमा कम्पनीका कर्मचारीहरुलाई पुनर्बिमाको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेसाकर्मी सरल कर्जा प्रवाह गर्नेछ । बैंकले आधारदरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ६.९७ प्रतिशत रहेको छ ।
सम्झौताअनुसार पुनर्बिमा कम्पनीको कर्मचारीको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौतापश्चात दुवै पक्ष लाभान्वित भई पुनर्बिमाका कर्मचारीहरुको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्झौताले दुई सरकारी संस्थाको व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए ।
पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले दुई संस्थाबीचको सम्बन्धलाई व्यवहारिक र वस्तुपरक बनाउँदै लैजाने बताए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कार्यक्रमको विषयवस्तुबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा बैंकका विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी, पुनर्बिमा कम्पनीका वरिष्ठ प्रबन्धक रन्जना थकुलवट, प्रबन्धक सरोज कोइराला, थापाथली शाखाका शाखा प्रबन्धक विक्रममान श्रेष्ठलगायत कर्मचारीहरु उपस्थिति थियो । देशभर बैंकको हाल २५८ शाखा कार्यालय, २४५ एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।








प्रतिक्रिया