बुधबार, जेठ १, २०८२

चीनमा पहिरो, ८ जनाको मृत्यु 

नेपालखोज २०७९ जेठ १४ गते १९:२६

फुझाउ । चीनमा पहिरोमा परि कम्तीमा आठ जनाको मृत्यु भएको छ ।   पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका मानिसहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 

देशको पूर्वी क्षेत्रमा पर्ने फुजियान प्रान्त अन्तर्गतको वुपिङमा शुक्रबार पहिरो गएको समाचारमा जनाइएको छ ।  उनीहरूले शनिबार दिएको जानकारी अनुसार बिहीबार रातीदेखि अत्यधिक बर्षा भएको र त्यसपछि पहिरोले घर भत्काएको थियो । 

पहिरोका कारण घर भत्किएर मृत्यु भएका मध्ये पाँच जनाको उद्योग रहेको भवनमा र तीन जनाको आवासीय भवनमा मृत्यु भएको हो । पहिरोका कारण अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ ।

घटनास्थलमा खटिएका उद्धारकर्ताले पहिरोका कारण त्यस क्षेत्रको यातायात, विद्युत र सञ्चार सेवा अवरुद्ध भएको जनाएका छन् ।  ती सेवा अवरुद्ध हुँदा नौ हजार ७०० भन्दा बढीलाई असर परेको छ भने एक हजार ६०० भन्दा बढी विस्थापित भएका छन् ।   रासस/सिन्ह्वा

प्रतिक्रिया