जीवन बिमा कम्पनीका परिपालन अधिकृतसँग अन्तर्क्रिया

काठमाडौं । बिमा समितिले मंगलबार जीवन बिमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा बिमा समितिका कानुन तथा नियमन महाशाखाका प्रमुख एवं निर्देशक दिनेशकुमार लालले बिमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य विवरण समावेश गरेर सञ्चालक समितिबाट स्वीकृत गरी त्रैमासिक रूपमा परिपालन प्रतिवेदन बुझाउन बिमा कम्पनीहरूका परिपालन अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
निर्देशक लालले बिमा कम्पनीहरूका परिपालन प्रतिवेदनमा एकरूपता नभएको, एउटै समस्या पटक–पटक दोहोरिने गरेको, समयमा प्रतिवेदन पेस नभएको जस्ता समस्या देखिएको उल्लेख गर्दै तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने कम्पनीमाथि कारबाही हुने बताए । उनले बिमा कम्पनीका काम कारबाहीलगायत समग्र पक्षको सत्य तथ्य विवरण समेटेर परिपालन प्रतिवेदन तयार भएमा त्यसबाट कम्पनीकै व्यवसाय विस्तार, सुशासन र देखिएका कमी–कमजोरी सुधारमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बिमा समितिका नियमन शाखा प्रमुख एवं उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदन सम्बन्धमा र उपनिर्देशक (कानुन) हृदयश्वर पण्डितले एएमएल, सीएफ्टी सम्बन्धमा प्रस्तुति गरेका थिए । कार्यक्रममा बिमा समितिका निर्देशक पूजन ढुंगेल (अधिकारी), उपनिर्देशक (कानुन) शाम्भराज लामिछाने, सहायक निर्देशक (कानुन) सविता थापा तथा सहायक निर्देशक (कानुन) मौनता धौबन्जार र जीवन बिमा कम्पनीहरूका परिपालन अधिकृतहरूको सहभागिता थियो ।








प्रतिक्रिया