आइतबार, असार ८, २०८२

नेपालमा उद्योग खोल्न जापानलाई चेम्बरको आग्रह

नेपालखोज २०७९ जेठ १८ गते १६:०८

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापानसमक्ष आग्रह गरेको छ । उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो ।

नेपालका लागि जापानी राजदूत किकुता युताकासँग आज भएको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले जापानी लगानीको सुरक्षणका लागि आफूहरूले सरकारसँग पहल गर्ने बताए । उनले भने, ‘वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी बर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जापानी लगानी सुरक्षण गर्न हामी प्रतिबद्धता जनाउँछौं ।’

जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्र्दभमा अध्यक्ष मल्लले नेपालमा खपत हुने बस्तु र अन्तर्राष्ट्रिय रूपमा बढी माग हुने वस्तुहरूको नेपालमै उद्योग खोल्न राजदूतसमक्ष आग्रह गरे । नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जापानी लगानीमा उद्योग खोलेर भारत, चीनजस्ता राष्ट्रमा व्यापार विस्तार गर्न राजदूत युताकासँग आग्रह गरे ।

जापानी निजी क्षेत्रसँग आफूहरूले सहकार्य गर्न चाहेको अध्यक्ष मल्लले बताए । अध्यक्ष मल्लले भने, ‘नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्ष पूरा भएको छ । जापानले जाइकालगायत आफ्ना विभिन्न दातृ निकायमार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । दुई मुलुकबीच आर्थिक सम्बन्ध पनि उच्च छ । यसलाई व्यावसायिक गतिविधिमार्फत हामी अझै अघि बढाउन चाहन्छौं ।’

सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै अध्यक्ष मल्लले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउन पहल गरिदिन पनि राजदूत युताकासँग आग्रह गरे । राजदूतसँगको भेटमा चेम्बरका पदाधिकारीले पछिल्लो समय नेपालले विद्युतमा सहुलियत, निर्यात प्रवर्द्धनमा विभिन्न सहुलियत घोषणा गरेकाले अन्तर्राष्ट्रिय लगानीका लागि महत्त्वपूर्ण अवसर रहेको बताएका थिए ।

चेम्बर पदाधिकारीसँगको भेटपछि राजदूत युताकाले नेपाल र जापानबीचको दुईपक्षीय सम्बन्ध ऐतिहासिक भएको बताए । उनले भने, दुई देशबीचको सम्बन्ध बलियो छ । यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहन्छौं । राजदूत युताकाले नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य जारी रहने प्रतिबद्धतासमेत जनाए ।

नेपाल सरकारलाई जापान सरकारका तर्फबाट र आफ्ना दातृनिकायमार्फत लामो समयदेखि सहयोग हुँदै आएको र यो क्रम अझै जारी रहने उनले बताए । जापानको लगानी भित्र्याउन नेपालले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्ने राजदूत युताकाको भनाइ छ ।

प्रतिक्रिया