सोमबार, पुष ७, २०८२

‘सार्क इन्स्योरेन्स रेगुलेटर्स फोरम’लाई सक्रिय बनाउन नेपालको प्रस्ताव

नेपालखोज २०७९ जेठ १९ गते १४:२५

काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

माल्दिभ्सको बैंक, धितोपत्र बजारसहित बिमा क्षेत्रको समेत नियमन गर्ने निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणको मालेस्थित कार्यालयमा हिजो (बुधबार) द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा नेपालका तर्फबाट समिति अध्यक्ष सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदी तथा नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरे र सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी सहभागी थिए ।

यसैगरी माल्दिभ्सका तर्फबाट माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिम, डेपुटी गभर्नर अहमद इमाद र बिमा विभागका कार्यकारी निर्देशक हसन फियाज सहभागी थिए । त्यस अवसरमा बिमा समितिका अध्यक्ष सिलवालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्तरीय बिमा नियमनकारी निकायहरूको संगठन सार्क इन्स्योरेन्स रेगुलेटर्स फोरमलाई सक्रिय बताउन राखेको प्रस्तावलाई माल्दिभम्स मौद्रिक प्राधिकरणका अध्यक्ष हासिमले सकारात्मक लिँदै उक्त फोरमलाई सक्रिय बनाउन सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

भेटवार्ताकै क्रममा अध्यक्ष सिलवालले नेपाली बिमा कम्पनीहरूलाई माल्दिभ्समा शाखा कार्यालय खोल्न के कस्तो व्यवस्था छ भनी राखेको जिज्ञासामा माल्दिभ्सको प्राधिकरणका अध्यक्ष हासिमले विदेशी बिमा कम्पनीहरूले माल्दिभ्समा सजिलै शाखा कार्यालय वा संयुक्त लगानीमा कम्पनी खोल्न सक्ने व्यवस्था रहेको जानकारी दिए । अध्यक्ष हासिमले आगामी दिनमा दुई देशका नियमनकारी निकायबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

त्यस अवसरमा बिमा समिति र माल्दिभ्स मौद्रिक प्राधिकरणबीच आगामी दिनमा नियमनकारी अनुभव, सूचना, विवरण तथा तथ्यांक आदि आदान-प्रदान गर्ने र बिमा क्षेत्रमा विद्यमान चुनौतीको मिलेर सामना गर्ने सहमतिसमेत भएको छ ।

प्रतिक्रिया