बिहीबार, जेठ २, २०८२

द्वन्द्वका कारण १ करोड ४० लाख युक्रेनीहरू घर छोडेर भागे : संयुक्त राष्ट्र

नेपालखोज २०७९ जेठ २१ गते १८:२७

कीभ । संयुक्त राष्ट्रसंघले रुस-युक्रेन द्वन्द्वका कारण झन्डै १ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ । सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आकँडा सार्वजनिक गरेको हो ।

युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र संघीय संकट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन् । द्वन्द्वले १ करोड ५७ लाख युक्रेनीहरूलाई मानवीय सहयोगको खाँचो परेको छ जसमध्ये केही पानी र बिजुलीको पहुँचको समेत अभावमा छन् ।

गत फेब्रुअरी २४ मा द्वन्द्व शुरु भएदेखि संयुक्त राष्ट्रसंघले देशको पूर्वमा घेरा हालेका शहरहरू सहित युक्रेनभरि लगभग ८ लाख मानिसहरूलाई तत्काल मानवीय सहायता उपलब्ध गराएको संयुक्त राष्ट्रका अधिकारीले बताएका छन् ।

संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सङ्कट जाडो याममा अझ चर्किने चेतावनी दिएको छ । रासस

प्रतिक्रिया