१७ अंकले नेप्से घट्दा १ अर्ब ४७ करोडको कारोबार

काठमाडौं । नेप्सेको उकालो यात्रामा फेरि ब्रेक लागेको छ । अघिल्लो दिन ६० अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज (बिहीबार) भने १७ दशमलव ५८ अंकले घटेर दुई हजार ६२ दशमलव ८६ अंकमा पुगेको छ ।
आज कारोबार खुलेको केही समय बढेको नेप्से अन्तिम समयमा आएर १७ अंकले घटेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९९ अंकले घटेर तीन सय ९६ दशमलव ३९ अंकमा पुगेको छ ।
दुई सय २९ कम्पनीको ३० हजार सात सय ६२ पटकको कारोबारमा ४१ लाख ५६ हजार एक सय चार कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमा कुल कारोबार रकम एक अर्ब ४७ करोड २६ लाख ९० हजार पाँच सय ५४ रुपैयाँ पुगेको छ ।
आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ७३ अंकले घटेर १४ सय १३ दशमलव ३४ अंकमा झर्यो । विकास बैंक समूहको सूचक ७३ दशमलव ५४ अंकले घटेर तीन हजार पाँच सय ७२ दशमलव ६१ अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक ४० दशमलव ५९ अंकले घटेर २४ सय १७ दशमलव १० अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ७८ दशमलव ८४ अंकले घटेर आठ हजार पाँच सय ७९ दशमलव ९५ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि २८ दशमलव ३७ अंकले घटेर नौ हजार आठ सय ४१ दशमलव १८ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर २५ सय ७२ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयरको मूल्य ६ दशमलव ६१ प्रतिशतले घटेर दुई सय ३६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
कुमारी बैंकको भने प्रतिकित्ता दुई सय नौ रुपैयाँ अन्तिम मूल्यमा ६ करोड ७४ लाख ६९ हजार तीन सय एक रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया