आइतबार, पुष ६, २०८२

सुडानको डार्फरमा एक सातामा १०० जनाको मृत्यु

नेपालखोज २०७९ जेठ ३१ गते १८:४८

खार्तुम । सुडानको डार्फरमा पछिल्लो एक सातामा झन्डै एक सय मानिस मारिएका छन् । संयुक्त राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फरमा मात्रै उनीहरु मारिएका हुन् । डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटनाहरु हुँदै गएकाले त्यसैमा परेर उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकायले जनाएको छ ।स्थानीय अरब मिलिसियाले विभिन्न गाउँहरुमा आक्रमण गर्दै आएका छन् ।

निरन्तर आक्रमणका कारण हजारौँ मानिस विस्थापित पनि भएका छन् । राष्ट्रसंघीय अधिकारीहरुले हिंसात्मक घटना निरन्तर भइरहेकाले मानवीय क्षति पनि निरन्तर हुँदै आएको बताएका छन् । उनीहरुले हिंसा अन्त्य गर्नेगरी तत्काल समस्या समाधानका उपायहरु खोज्न पनि सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

जनताको जीवन रक्षाका लागि स्थानीय अगुवा, अधिकारप्राप्त व्यक्तिहरु, सुरक्षाकर्मीलगायत सबैले ध्यान दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् । डार्फर क्षेत्रमा सन् २००३ देखि गृह युद्ध भइरहेको छ । तत्कालिन राष्ट्रपति ओमर अल बशिर विरुद्ध सुरु भएको द्वन्द्व अहिले पनि चलिरहेको छ ।

राष्ट्रपति बशिरलाई भने सन् २०१९ को अप्रिलमा अपदस्थ गरिएको थियो । त्यसपछि भएका विभिन्न सहमती तथा सम्झौताहरु पालना नभएकाले द्वन्द्व चलिरहेको हो । रासस

प्रतिक्रिया