सोमबार, पुष ७, २०८२

कांग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता गर्दैन : सिंह

नेपालखोज २०७९ असार ४ गते १७:०८

काभ्रे । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनको परिणामपछि झस्किएर गठबन्धन फुटाउने प्रयास सुरु भएको बताएका छन् । गठबन्धन केका लागि थियो, किन थियो भन्ने कुरा प्रमाणित हुँदै आएको पनि उनले बताए ।

संविधानमाथि पटकपटक प्रहार भएकाले कांग्रेस नेतृत्वमा जारी भएको संविधान जोगाउन परिस्थितिले गठबन्धनमा जानुपरेको उनको भनाइ छ । कांग्रेसबाट जित्ने केही साथीहरुले गठबन्धनका कारण अवसर नपाए पनि व्यवस्था जोगाउन गठबन्धनमा जानुपरेको पनि बताए । स्थानीय निर्वाचनको नतिजाले कांग्रेस पहिलो पार्टी बनेको भन्दै अब फेरि आउँदै गरेको निर्वाचनमा अझै मिहिनेत गरी ठूलो पार्टी बनाउन जनतामा जानुपर्ने बताए ।

काभ्रेको बनेपामा आज (शनिबार) नेपाली कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले अहिले एसपीपीका विषयमा हुँदै नभएको विषय उचालेर कांग्रेसमाथि प्रहार भइरहेको समेत बताउ । विपक्षी दलले आफू सतामा हुँदा पत्र लेख्ने अनि एसपीपीका नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर प्रयास गरेको दाबी उनको थियो ।

कांग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता नगर्ने उनले बताए । जुन पार्टीले लोकतन्त्रका लागि यतिका योगदान गर्छ उहीँ पार्टीले मुलुक र जनताको अहित हुने काम गर्छ भनेर आरोप लगाउनु अशोभनीय हुने नेता सिंहको भनाइ छ ।

उनले कांग्रेस पार्टीले मात्रै मुलुकको हित गर्न सक्ने भन्दै कांग्रेस पार्टीभित्रको आन्तरिक एकता बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताए । पार्टीभित्र एकता कायम राखेर विधि पद्धतिमै पार्टी सञ्चालन गर्न सबैको ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गणेश लामा, वाग्मती प्रदेश महामन्त्री कञ्चनचन्द्र बादे, कांग्रेस काभ्रे जिल्ला सभापति तीर्थ लामा, बनेपा नगरपालिकाका मेयर शान्तिकृष्ण शाक्यलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रम बनेपा नगरमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया