काठमाडौंमा ‘जलविद्युत्को शक्ति : सेतो सुन’ को तयारी

काठमाडौं । आगामी असारको दोस्रो साता राजधानीमा ‘जलविद्युतको शक्ति : सेतो सुन’ विषयक कार्यशाला गोष्ठी आयोजना हुने भएको छ । गोष्ठी नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) ले असार १२ गते आइतबार राजधानीको जमलस्थित होटल यलोप्यागोडामा आयोजना गर्ने भएको हो ।
गोष्ठीमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बीमक, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, क्षति मूल्यांकनकर्तालगायतसँग विस्तृत छलफल र अन्तरक्रिया हुने एसोसिएसनले जनाएको छ । नेपालको अर्थतन्त्र तथा समष्टि विकासको लागि जलविद्युतले गर्न सक्ने योगदानलाई उच्च मूल्यांकन गर्दै कार्यशाला गोष्ठी आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकालले बताए ।
जलविद्युत क्षेत्रसँग सम्बन्धित लगानी गर्न चाहने उद्यमी, लगानीकर्ता तथा बैंकरहरु, लगानीको जोखिमलाई हस्तान्तरण गर्न चाहने र सो जोखिम रक्षावरण गर्न चाहने बीमक तथा पूर्नबीमक, भवितव्य भइ क्षति भएमा क्षतिको मूल्यांकन गर्ने, बीमा उद्योगमा कुनै विवाद उत्पन्न भएमा विवाद समाधान गर्ने मध्यस्थकर्तालगायतका लागि गोष्ठि उपयोगी हुने जनाइएको छ ।
पछिल्लो समय जलविद्युतको बीमाको विषयलाई लिएर ठुलाठुला समस्याहरु देखापरिरहेको सन्दर्भमा सर्भेयर एसोसिएसनले सरोकारवाला पक्षसँग एक दिने छलफल तथा अन्तरक्रिया गर्न थालेको हो । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कार्यशाला गोष्ठीको उद्घाटन गर्ने भएकी छन् । चार वटा सत्रमा सञ्चालन हुने गोष्ठीमा बीमा, जलविद्युत र सर्भेयरका तर्फबाट विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्र प्रस्तुतीपछि छलफल हुने छ ।








प्रतिक्रिया