नेपाल-भारत सीमामा हात्तीको त्रास बढ्दाे
हुल नियन्त्रण गर्नै समस्या

काठमाडौं । केही दिनदेखि नेपाल-भारत सीमा क्षेत्र झापाको बाहुनडाँगीका वासिन्दालाई भारततर्फबाट हुल बाँधेर आउने हात्तीको त्रास छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ स्थानीय वासिन्दा विजय दाहालको घरमा केही दिनअघि तीनवटा हात्ती आए । हात्तीले घरको पर्खाल मात्रै भत्काएनन् भण्डारण गरेर राखिएको धानसमेत खाइदिए । त्यही दिन झापा गाउँपालिकाका अन्य तीनवटा घर पनि हात्तीले भत्काइ दिए ।
दिनदहाडै वा साँझमा हात्ती गाउँमा पस्नथालेपछि स्थानीय बासिन्दा कसरी अन्नवाली जोगाउने र आफूहरू पनि सुरक्षित हुने भन्ने त्रासमा छन् । विगतमा त्यसरी गाउँ पस्ने हात्तीलाई मानिसहरूले मिलेर भगाउन खोज्दा हात्तीले आक्रमण गर्ने गरेका थुप्रै घटना भएका छन् । केही सर्वसाधारणको त ज्यानसमेत गएको छ । २०३४ सालदेखि हालसम्म बाहुनडाँगीमा मात्र हात्तीको आक्रमणबाट १७ जनाको ज्यान गएको वडाध्यक्ष अर्जुन कार्की बताउँछन् ।
त्यस्ता घटना भएपछि हात्तीलाई छेक्न विद्युतीय तारबार लगाइयो । तर ती तारबारले काम गर्न छोडेपछि अहिले फेरी विगतमा जस्तै त्रासमा स्थानीय बासिन्दा छन् । पछिल्ला दिनमा सीमा क्षेत्रमा हात्ती दिन नबिराइ आउने गरेको स्थानीयबासिन्दा हरि उप्रेती बताउँछन् । उनी भन्छन्, ‘दिउँसै पनि एक/दुईवटा आउँछन् । साँझदेखि त हुल बाँधेरै आउन सुरु हुन्छ।’
उनका अनुसार अरुबेला भन्दा जेठ असार महिनामा हुल बाँधेर आउने हात्तीहरू नेपाल पस्न खोज्छन् । सोही क्षेत्रमा बसोबास गर्ने मेचीनगर नगरपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्की पनि साँझदेखि करिब डेढ/दुई सयको सङ्ख्यामा हात्ती नेपाल आउन थालेका छन् । उनी भन्छन्, ‘विद्युतीय तारबार नाघेर वा भत्काएर हात्ती मानव वस्तीमा पस्न थालेका छन्। तारबार लगाउनुभन्दा अगाडिको स्थितिमा पुगिसक्यो ।‘
करिब ८ वर्षअघि इलामको जिर्मलेस्थित दुधे टोलबाट बाहुनडाँगी हुँदै झापाको नकलबन्धा भेट्ने गरी मेची नदीको नेपाल पट्टिको किनारमा तारबार लगाइएको थियो । हात्तीले मानवबस्ती पसेर दुख दिएपछि त्यतिबेला विश्व बैंकको आर्थिक सहयोगमा १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार लगाइएको हो ।
एक करोड ५० लाख रुपैयाँको लागतमा बनेको उक्त तारबारले काम गर्न छोडेको स्थानीयबासिन्दाको भनाइ छ। रेखदेख भरपर्दो नभएका कारण तारबारले काम गर्न छोडेको गुनासो गरिरहँदा मेचीनगर ४ का वडाध्यक्ष कार्की मर्मतका लागि सामान नपाइएको बताउँछन् । उनका अनुसार सामान दक्षिण भारतमा मात्र पाइने भएकाले समयमा मर्मत हुन नसक्दा तारबारले काम गर्न नसकेको हो ।
डिभिजन बन कार्यालय झापाका प्रमुख युवराज मास्के भने स्थानीयबासिन्दाको लापरवाहीका कारण तारबारमा कहिलेकाहिँ करेन्ट नहुने गरेको बताउँछन् । उनले भने, ‘कहिले ब्याट्री चोरी हुने, कहिले मानिस वारपार गर्दा करेन्टको तार निकालिदिने गरेकाले पनि तारबारले काम नगरेको हो ।‘
हात्ती आउने विशेषगरि छिमेकी मुलुक भारतबाटै हो । नेपालका पनि केही स्थानमा हात्ती छन् । चितवन, पर्सा, बर्दियालगायत स्थानमा हात्ती बस्ने गरेका छन् । हात्ती हिँड्ने बाटोमा मानव बस्ती बसेपछि हात्तीको आक्रमणबाट मानिसको ज्यान जाने भएकाले केही स्थानमा विद्युतीय तारबार लगाइएको छ ।
जङ्गलमा बस्ने जनावरलाई जङ्गलमै राखेर मानव बस्तीमा पस्न नदिन सरकारले विशेषगरि तीन स्थानमा विद्युतीय तारबार लगाएको छ । चितवन, झापा तथा बर्दियामा हात्ती छेक्न भन्दै विद्युतीय तारबार लगाइएका छन् । तर ती तारबार नाघेर वा भत्काएर हात्ती हिँड्न थालेका हात्तीसम्बन्धी डा. नरेन्द्रमान प्रधान बताउँछन् । उनी भन्छन्, ‘तारबार लगाइएको स्थानमा केही समय हात्ती रोकिए। उनीहरूका लागि त्यो नयाँ संरचना भयो ।
तर त्यो संरचनालाई कसरी भत्काउन सकिन्छ भन्ने कुरा हात्तीले सोच्न थालिहाल्छ। अन्ततः त्यो संरचना भत्काएरै छाड्छ ।’ उनका अनुसार त्यस्ता तारबार रुख ढालेर भए पनि हात्तीले भत्काएका उदाहरण छन् । अन्य क्षेत्रभन्दा झापाको बाहुनडाँगी नै हात्तीको समूह नेपाल प्रवेश गर्ने मुख्य नाका भएको प्रधान बताउँछन् ।
जङ्गली जनावरलाई एक ठाउँमा छेकबार गर्ने काम ‘मूर्खतापूर्ण’ हुने वन्यजन्तु क्षेत्रमा काम गर्नेहरू बताउँछन् । जति छेक्न खोज्यो त्यति नै ती जनावर आक्रामक बन्ने उनीहरूको बुझाइ छ । अहिलेसम्म सरकारले हात्ती छेक्न भन्दै जति पैसा खर्च गरे पनि त्यो उपायले केही समयका लागि मात्र काम गरेको वन मन्त्रायलयका पदाधिकारीको स्वीकारोक्ति छ । मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेका अनुसार हात्ती छेक्ने कामभन्दा पनि अब हात्ती र मान्छे कसरी सँगै बस्ने भन्ने कुराको चेतना सर्वसाधारणमा दिनुपर्छ ।
काफ्ले भन्छन्, ‘अहिलेसम्म गरिएका काम अस्थायी समाधान मात्र हुन्। तारबार लगाएर हात्ती छेक्न खोज्नु स्थायी समाधान होइन। पर्यावरणीय काम केही गरेनौं । यसको समाधान त पर्यावरणको क्षेत्रमा काम गरेर मात्र हुन्छ ।’ पर्यावरणमा हात्ती पनि बाँच्नुपर्छ भन्ने चेतना सर्वसाधारणलाई दिनुपर्ने उनको भनाइ छ । भौतिक पूर्वाधार निर्माणमा अब खर्च गर्न नहुने उनको बुझाइ छ । हात्तीसम्बन्धी विज्ञ प्रधान पनि मान्छे र हात्तीसँगै बस्ने उपायको खोजी गरिनुपर्ने बताउँछन् । -बीबीसी








प्रतिक्रिया