सोमबार, पुष ७, २०८२

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा धनुषाको रमदैया भवाडीमा

नेपालखोज २०७९ असार ५ गते १५:५०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका १ रमदैया भवाडीमा असार ३ गतेबाट ९४औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी शम्भु यादवलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई.के.वाई.सी। तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुबिधाको सुरुवात गरिसकेको छ । साथसाथै, यस बैंकका ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको स्थापनासमेत गरिएको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा इमेल गरी प्राप्त गर्न सक्नेछन् ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभर फैलिएका आफ्ना १७५ शाखा, १२५ एटीएम र ९४ शाखारहित बैंकिङ एकाइबाट करिब १४ लाख ग्राहकलाई आधुनिक सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया