सोमबार, वैशाख २९, २०८२

‘खेल क्षेत्रमा राजनीति नगर्नुहोस्’

नेपालखोज २०७९ असार ६ गते १७:३९

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को २१औं चुनावी साधारणसभाको उद्घाटन सत्रमा उनले एन्फामा देखिएको समस्या सहमतिमा समाधान गरेर अगाडि बढ्न आग्रह गरेका हुन् ।

राज्यले खेलकुदलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री गहतराजले भने, ‘राज्यले फुटबलमा ठूलो लगानी गरीरहेको छ, विशेषगरी नेपालमा फुटबलका पूर्वाधारहरू नै बढी छन् ।’ यद्यपि नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रूपमा मात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको उनले बताए । ‘नेपालमा एउटा चुनौती छ, खेलकुदको विषय बुझ्ने सिहंदरबारमा छैनन् । खेल सामान्य गतिविधि वा क्रियाकलापको क्षेत्र हो भन्ने बुझाइ छ । यसरी खेल क्षेत्रको विकास सम्भव छैन,’ मन्त्री गहतराजले भने ।

एन्फामा देखिएको समस्या समाधान गरेर अघि बढ्न मन्त्री गहतराजको सुझाव

खेललाई उद्योगका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । ‘नेपाल प्राकृतिक रूपले सुन्दर छ । यहाँको खेलकुदलाई पर्यटनसँग जोड्न सकियो भने धेरै उपलब्धि हुनेछ । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा लबिइङ गर्न आवश्यक छ,’ मन्त्री गहतराजले भने, ‘हाम्रोजस्तो देशमा खेल पर्यटनको सम्भावना अत्याधिक छ ।’ खेललाई व्यावसायिक तथा आर्थिक क्षेत्रका रूपमा समेत विकास गर्नुपर्ने बताए । उनले भने, ‘आगामी विश्वको उदाउँदो उद्योग भनेको नै खेल क्षेत्र हो ।’

नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धी खेलाडीका रूपमा उत्पादन गर्न विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मन्त्री गहतराजले गोर्खा स्प्रिडलाई अगाडि बढाउने गरी एन्फाको आगामी नेतृत्वले रणनिति बनाउनुपर्नेमा समेत जोड दिए ।

प्रतिक्रिया