आइतबार, पुष ६, २०८२

कम्बोडियाको नदीमा भेटियाे ‘विश्वकै ठूलो माछा’ !

नेपालखोज २०७९ असार ७ गते १३:२९

कम्बोडिया । नदी वा तालमा यसअघि तीनसय केजीको माछा भेटिएको कुनै पनि अभिलेख छैन । तर कम्बोडियामा मेकोङ नदीमा भेटिएको तीनसय केजीको एउटा ‘स्टिङरे’ अहिलेसम्म स्वच्छ पानीमा फेला परेको सबैभन्दा ठूलो माछा भएको वैज्ञानिकहरूले बताएका छन् ।

यसअघि सन् २००५ मा थाईल्यान्डमा भेटिएको मेकोङ जायन्ट क्याटफिशको नाममा उक्त कीर्तिमान थियो । उक्त माछाको तौल २९३ केजी थियो । यद्यपि स्वच्छ पानीमा पाइने माछाबारे आधिकारिक अभिलेख वा डेटाबेस छैन । मेकोङ नदी जैविक विविधतामा सम्पन्न छ। तर बढी माछा मार्ने काम, बाँध र प्रदूषणले मेकोङको पारिस्थितिक प्रणाली जोखिममा परेको छ।

तिब्बतबाट उत्पन्न भएको मेकोङ नदी चीन, म्यान्मार, थाईल्यान्ड, क्याम्बोडिया र भियतनाम हुँदै बग्छ। ‘छ महादेशका नदी र तालमा भएका ठूला माछाबारे २० वर्ष अनुसन्धान गर्दा हामीले भेटेको यो सबैभन्दा ठूलो माछा हो,’ वन्डर्स अफ द मेकोङ नामक संरक्षण परियोजनाको नेतृत्व गर्ने जीववैज्ञानिक जेब होगनले भनेका छन् । उनका अनुसार उक्त माछा नै अभिलेखमा आएको विश्वभरिकै स्वच्छ पानीमा पाइनेमा सबैभन्दा ठूलो माछा हो । उक्त परियोजनालाई यूएसएडले आर्थिक सहयोग उपलब्ध गराएको छ।
‘यो माछा फेला पर्नु र यसको अभिलेख राखिनु उल्लेखनीय छ। अनि अहिले विभिन्न चुनौती खेपिरहेको मेकोङ नदीमा भेटिनु आशाको एउटा दुर्लभ सकारात्मक संकेत हो,’ यूनिभर्सिटी अफ नेभाडाकी डा. होगनले भनेका छन् । संरक्षण परियोजनाले क्याम्बोडिया सरकारको मत्स्य प्रशासनसँग मिलेर काम गरिरहेको छ।

भीमकाय वा स‌ंकटापन्न माछा फेला पर्दा अनुसन्धानकर्मीहरूलाई सूचित गर्नेगरी उनीहरूले माझीहरूको एउटा सञ्जाल स्थापना गर्न खोजेका छन् । को प्रेआ द्वीपबाट जुन १३ तारिखमा राति एक स्थानीय माझीले आफूले एउटा निकै ठूलो स्टिङरे माछा समातेको सूचना अनुसन्धानकर्ताहरूलाई दिएका थिए । उक्त माछा ३.९८ मिटर लामो र २.२ मिटर चौडा थियो । चालचलन निगरानी गर्ने उद्देश्यले उपकरणसहितको ट्याग जडान गरेर उक्त माछालाई पुनः नदीमा छोडिएको थियो ।

‘आकाशमा चन्द्रमा झुल्किएपछि गोधूलितिर त्यो भीमकाय माछा मेकोङ नदीको धमिलो पानीमा हरायो,’ डा. होगनले भनेका छन् । स्थानीय खमेर भाषामा त्यो माछालाई बोरामी भनिन्छ। त्यसको अर्थ पूर्णचन्द्र हुन्छ । ‘यो स्टिङरे फेला पर्नु प्रकृतिमा अझै नयाँ र असाधारण कुरा भेटिन सक्छन् अनि धेरै ठूला जलचरहरूबारे निकै कम अध्ययन भएको छ भन्ने प्रमाण हो,’ उनले भने ।

जायन्ट फ्रेशवाटर स्टिङरे संकटापन्न प्रजातिको माछा हो । यसअघि उक्त टोलीले १८१ केजी तौल भएको सोही प्रजातिको अर्को माछाको पनि परीक्षण गरेको थियो । ‘कीर्तिमान राख्ने माछा भेटिनुको अर्थ जलपर्यावरण अझै तुलनात्मक रूपमा राम्रो हुनु हो । यो हामीले याङत्से नदीजस्ता स्थानमा देखेकोभन्दा विपरीत छ, जहाँ वैज्ञानिकहरूले चिनियाँ प्याडलफिश लोप भएको विवरण दिएका छन्,’ डा. होगनले भनेका छन् ।

‘मेकोङको गहिरो पानीमा यस्ता ठूला माछाबाहेक अरू जीव पनि छन् । यस्तो गम्भीर वासस्थानमा फुल पारेर माछाले प्रत्येक वर्ष अर्बौँ भुरा जन्माउँछ। त्यसबाट क्याम्बोडिया र भियतनाममा लाखौँ मानिसको जीविकोपार्जन र खाद्यसुरक्षा सुनिश्चित हुन्छ ।’ -बीबीसी

प्रतिक्रिया