अर्थमन्त्रीले भने– सय मेगावाटको हाइड्रोजन प्लान्ट लगाउन अध्ययन गर्नूस्

काठमाडौं । अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रिन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो ।
छलफलमा अर्थमन्त्री शर्माले सुरुवातमा एक सय मेगावाटको हाइड्रोन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए । विकसित देशहरू धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको प्रसंग निकाल्दै अर्थमन्त्री शर्माले तत्काल सय मेगाावाटको हाइड्रोजन प्लान्ट लगाउने बिषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुन केयूका पदाधिकारीलाई निर्देशन दिए । ‘हाइड्रोजन प्लान्ट लगाउने विषयमा अर्थ मन्त्रालयको तर्फबाट पनि केही तयारी गर्छौं । तपाईहरू (केयूका पदाधिकारी) पनि तयारी गर्नुस् । र, हप्ता–दश दिनभित्र पुनः अर्को बैठक बसांै,’ शर्माले भने ।
अर्थमन्त्री शर्माले लगानीबोर्डमार्फत लगानीकर्ताको खोजी गर्ने जानकारी गराएका थिए । रासायनिक मल कारखाना खोल्न विभिन्न देशका अन्तर्राष्ट्रिय कम्पनीहरूले इच्छा देखाइरहेको जानकारी गराउँदै मन्त्री शर्माले हाइड्रोजन इन्धनबाट मल कारखाना सञ्चालन गर्ने विषयमा छलफल अघि बढाउने बताए ।
छलफलमा ग्रिन हाइड्रोइजन ल्याबका प्रमुख विराजसिंह थापाले सय मेगावाटको ग्रिन हाइड्रोजन प्लान्ट डेढ बर्षमा तयार गर्ने गरी अन्तर्राष्ट्रिय कम्पनीहरूले प्रस्ताव गरिरहेको जानकारी पनि गराएका थिए । उनले विभिन्न देशमा ग्रिन हाइड्रोजनको अभ्यास तथा पेट्रोलियमलाई विस्थापित गरी ग्रिन हाइड्रोजन अवलम्बन गर्ने नीतिबारे जानकारी गराएका थिए ।
उनका अनुसार १ किलो हाइड्रोजन इन्धन उत्पादन गर्न ९ किलो शुद्ध पानी चाहिन्छ । विश्वको तुलनामा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्न धेरै सस्तो भएको उनको भनाइ थियो । ‘हिमालयन देशको शुद्ध पानी हाइड्रोजन उत्पादनका लागि उपयुक्त हुने विभिन्न अध्ययनले देखाएको छ । त्यसैले नेपालको हिमाली तथा पहाडी क्षेत्रको पानी प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्यौं भने धेरै फाइदा पुग्छ । निर्यातमा कोसेढुंगा साबित हुन सक्छ,’ थापाले भने ।







प्रतिक्रिया