निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा विस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेठसम्ममा नेपालका २७ वाणिज्य बैंकमध्ये निक्षेप संकलन वृद्धिका आधारमा नेपाल बैंक प्रथम स्थानमा छ । कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा छ ।
गत जेठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५ दशमलव ८५ प्रतिशतले वृद्धि भएको देखिन्छ । कर्जा विस्तार ३२ दशमलव पाँच प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकमध्ये २१ वटाको निक्षेप वृद्धि भएको छ भने ६ वटाको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धिदर सात दशमलव ३७ प्रतिशत छ ।
त्यसैगरी २७ वटै वाणिज्य बैंकको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरूको कर्जा विस्तारमा १७ दशमलव ४९ प्रतिशतको वृद्धि भएको देखिन्छ ।
बैंकले हाल मुलुकभर दुई सय १७ शाखा, एक सय ७९ एटीएम मेसिन साथै ४९ एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको छ । यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत सेवा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।
विगत केही वर्षयता बैंकले छिटो-छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत देशभर सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको प्रयोगसँगै आमनेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।








प्रतिक्रिया