मंगलबार, वैशाख १८, २०८१

५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

नेपालखोज २०७९ असार ९ गते ८:३३

काठमाडौं । पाँचदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ आज (बिहीबार) देखि लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले हिजो (बुधबार) पत्रकार सम्मेलन गरी काठमाडौंमा खोप लगाउने तयारी पूरा भएको जनाएको हो ।

कार्यालयका प्रमुख वसन्त अधिकारीले बिहीबारदेखि असार १५ सम्म काठमाडौं जिल्लाका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिए । देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ ।

उनका अनुसार बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो । कार्यालयले काठमाडौंका बालबालिकालाई विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ ।

उनले विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइने जनाए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेकाले सबैले खोप लगाउन आग्रह गरे । खोप लगाउन खोप केन्द्रमा एकजना तालिम प्राप्त स्वास्थ्यकर्मी राखिनेछ । कार्यालय प्रमुख अधिकारीले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमै उपचारको व्यवस्थासमेत गरिएको जानकारी दिए ।

उनका अनुसार बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिनेछ । खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा आउनेजस्ता समस्या हुने गर्छन् । असार ९ देखि १५ गतेसम्म २७ जिल्ला बालबालिकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।

यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ । पाँचदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइनेछ ।

यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । खोप एक स्थानीय तहलाई एकै चरणमा सम्पन्न गर्ने गरिनेछ । खोप केन्द्रमा कम्तिमा एकजना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित सङ्ख्याका आधारमा थप स्वास्थ्यकर्मी तथा दुई स्वयंसेवक र प्रति २०० थप लक्षित सङ्ख्याका लागि थप एकजना स्वयंसेवक परिचालन गरिनेछ ।

प्रतिक्रिया