सहज च्यालेन्ज फन्डका लागि आवेदन खुल्यो

काठमाडौं । सहज भनेर पनि चिनेने नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) र आइडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फन्ड– दोस्रो चरण’ का लागि आवेदन खुला गरिएको छ । विराटनगरमा असार ९ गते पत्रकार सम्मेलन गरी कार्यक्रमको घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा कृषि मन्त्रालय प्रदेश १ का सचिव मेगनाथ तिमल्सिना, पशुपन्छी तथा मत्स्य विकास निर्देशानलयका प्रमुख डा. पशुपति ढुंगाना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजाल, मोरङ व्यापारिक संघका नवनिर्वाचित अध्यक्ष नवीन रिजाल, कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) का टिम लिड रिक भेन डर क्याम्प, व्यवसाय सक्षम वातावरण र संघीय राज्य भवनका प्रबन्धक विष्णुप्रसाद काफ्ले, कृषि सेवा कृषि सेवा व्यवस्थापककी प्रबन्धक शुभेच्छा श्रेष्ठ, कृषि सेवा दीर्घकालीन परामर्शदाताका उत्कर्षप्रसाद, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, मिडियाकर्मीहरू, आइडिया स्टुडियो नेपालका कर्मचारीलगायतको उपस्थिति थियो ।
दुग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरूले यसमा आवेदन दिन सक्नेछन् । आवेदकले प्रदेश १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधीकरणसँग सम्बन्धित चुनौतीलाई सम्बोधन गर्ने समाधान प्रस्तुत गर्नुपर्नेछ । आवेदन साउन ६ गतेसम्म दिन सकिनेछ ।
आवेदकहरूको नवीनतम सोच दुग्धजन्य उत्पादन सम्बद्ध नवप्रवर्तनात्मक, समाधानमुखी र व्यावसायिक सम्भाव्यता भएको हुनुपर्नेछ । सहज च्यालेन्ज फन्डको दोस्रो चरणको कुल बजेट दुई करोड नेपाली रुपैयाँको हुनेछ । यस फन्डअन्तर्गत निजी व्यवसाय तथा उद्यमीहरूले न्यूनतम पाँच लाखदेखि ५० लाख नेपाली रुपैयाँसम्म प्राप्त गर्नेछन् । यसरी छनोट गरिएका आवेदकले नगद राशिसँगै व्यवसाय अगाडि बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् ।








प्रतिक्रिया