शनिबार, पुष ५, २०८२

कुमारी बैंक र बैंक अल बिलादबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

नेपालखोज २०७९ असार १२ गते १९:५६

काठमाडौं । कुमारी बैंकले विप्रेषण सेवा सहज बनाउन साउदी अरेबियाको बैंक अल बिलादसँग सहकार्य गरेको छ । उक्त रेमिट्यान्स सेवाको औपचारिक शुभारम्भसँगै ग्राहकले बैंक अलबिलाद, साउदी अरेयिबाको एन्जाज एप, एन्जाज सेन्टर, अल बिलादका विद्युतीय प्रणाली, अलबिलादएटीएम, एन्जाज प्वाइन्ट अफ सेल डिभाइस र एन्जाज सेल्फ–सर्भिस मेसिनमार्फत सुलभ दरमा नेपाल पैसा पठाउन सक्नेछन् । साथै कुमारी बैंकको देशव्यापी शाखा सन्जाललगायत कुमारी रेमिटका नेपालभरका १६ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत रकम प्राप्त गर्न सक्नेछन् । साथै, बैंक अल बिलादमार्फत ग्राहकले नेपालको कुनै पनि बैंक खातामा पैसा तुरुन्तै जम्मा गर्न सक्नेछन् ।

सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बैंक अल बिलादका एफआई प्रमुख मोहम्मद अल फुरैहले हस्ताक्षर गरे । सम्झौतापश्चात् नेपाल र साउदी अरेबियाका दुई बैंकबीचको साझेदारीले बैंकिङ प्रणालीमार्फत विप्रेषण रकम ल्याउने र नेपालमा साउदीको लगानी भित्र्याउन मद्दत पुग्ने विश्वास कुमारी बैंकले लिएको छ । नेपालमा लगानीको अनुकूल वातावरण रहेको बताउँदै खनालले दुई बैंकको साझेदारीले नेपालमा विभिन्न क्षेत्रमा साउदीको लगानी प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताए ।

दुई बैंकबीचको यस साझेदारीले रेमिट्यान्स सेवालाई सहज बनाउने र औपचारिक बैंकिङ प्रणालीेहरूमार्फत साउदीबाट आउने विप्रेषण रकम नेपालमा प्राप्त हुनेछ । आफ्ना देशव्यापी १९७ शाखा सन्जाल, १८१ एटीएम, ४४ शाखारहित बैंकिङ एकाइ तथा १६ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे कुमारी बैंकले आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त पनि विप्रेषण सन्जाल पनि द्रुत गतिमा विस्तार गर्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया