नर्भिकले भन्यो– मेडिकल चेकअपका नाममा ठगी गर्ने गिरोह सक्रिय छन्

काठमाडौं । विभिन्न डिजिटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जान मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरूले ठगीधन्दा चलाइरहेको खुलेको छ ।
नर्भिक इन्टरनेसल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सन्जाल, इमेल र वेबसाइटमार्फत अस्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगीधन्दा चलाएको सार्वजनिक गरेको हो ।
अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल चेकअप नर्भिक हस्पिटलमा हुने गरेको छ । मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । ‘अस्ट्रेलियाका लागि मेडिकल चेकअप गराउनुपर्नेले अनलाइनबाटै बुकिङ र छिटो डेट चाहिनेले अनलाइनबाटै रिसेड्यूल गर्नुबाहेक अर्को विकल्प नभएको समेत जानकारी गराउँदछौं,’ अस्पतालद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
हस्पिटलले अनधिकृत रुपमा विभिन्न गिरोहहरूले दिएको प्रलोभनमा नफस्न र ठगिनबाट जोगिन पनि आह्वान गरेको छ । नर्भिकको नाम दुरुपयोग गरी सर्वसाधारण ठगी गरिरहेको गिरोहको विषयमा हस्पिटल व्यवस्थापनले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरीसमेत दिइसकेको जनाएको छ । हस्पिटलले यस्ता गिरोहका पछि नलाग्न, त्यस्ताको विषयमा हस्पिटल प्रशासन वा प्रहरीलाई खबर गरिदिन समेत आह्वान गरेको छ ।
विज्ञप्तिका अनुसार मेडिकल चेकअपको विषयमा केही बुझ्नुपरेमा वा कुनै द्विविधा भएमा हस्पिटलको सम्पर्क नम्बर ०१५९७००३२ तथा ह्वाट्सअप वा भाइबर नम्बर ९८८०८८८००० मा सोझै सम्पर्क राख्न सकिनेछ ।








प्रतिक्रिया