शनिबार, वैशाख २७, २०८२

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ असार १३ गते १७:५०

काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका अनुसार रामेछापको मन्थली नगरपालिका १ घर भई भक्तपुरको मध्यपुर थिमी १ बस्ने ३२ वर्षीय रामचन्द्र थापामगरलाई आइतबार साँझ काठमाडौंको तारकेश्वर नगरपालिका शेषमतीबाट प्रहरीले पक्राउ गरेको हो ।

थापामगरविरुद्ध विभिन्न बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ माघ ११ गते ४८ लाख ९५ हजार पाँच सय जरिवाना र एक लाख १६ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको थियो । यस्तै २०७८ कात्तिक २८ गते १० लाख रुपैयाँ जरिवाना, तीन दिन कैद र ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको कार्यालयको भनाइ छ ।

यसैगरी २०७७ कात्तिक ८ गते पनि चार लाख ७० हजार रुपैयाँ जरिवाना र तीन दिन कैद र १८ हजार आठ सय रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी भएका फैसलाहरुमा जम्मा ६३ लाख ६५ हजार पाँच सय रुपैयाँ जरिवाना, ६ दिन कैद र दुई लाख ५४ हजार आठ सय रुपैयाँ क्षतिपूर्तिसमेत नतिरेर बेरुजु रहेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । आज (सोमबार) ललितपुर जिल्ला अदालतमा उनलाई पेस गरिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया