बिहीबार, पुष ३, २०८२

युक्रेनी सपिङ सेन्टरमा भएको रुसी हमला युद्ध अपराध

नेपालखोज २०७९ असार १४ गते ८:०३

काठमाडाैं । युक्रेनको क्रेमेन्चुक सहरस्थित एक सपिङ सेन्टरमा क्षेप्यास्त्र प्रहार भएपछि कम्तीमा १६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो करिब चार बजे आक्रमण भएको थियो । घटना हुँदा त्यस व्यस्त केन्द्र भित्र लगभग एक हजार जना मानिस रहेको अनुमान गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए ।

जर्मनीमा आयोजित एक सम्मेलनमा रहेका विश्वका सात धनी राष्ट्रहरूको समूह ‘जी सेभेन’का नेताहरूले रुसी आक्रमणलाई ‘घृणित कार्य’को संज्ञा दिँदै त्यसको निन्दा गरेका छन् ।

‘निर्दोष नागरिकहरूमाथि विवेकहीन ढङ्गमा गरिने आक्रमणहरू युद्ध अपराध हुन्,’ उनीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

आक्रमणमा परि कम्तीमा ५९ जना घाइते भएका छन् भने मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने डर कायम छ । यस आक्रमणमा रुसको दोष ठहराइएको छ ।

अनलाइनमा सार्वजनिक तस्बिरहरूले उक्त केन्द्रको भवनमा आगो दन्किरहेको र त्यहाँबाट बाक्लो कालो धुवाँ आकाशतर्फ उडिरहेको देखाउँछन् ।

‘यो एक मानवता विरुद्धको अपराध हो । यो स्पष्ट रूपमा गैर सैनिक मानिसहरू विरुद्धको आतङ्क र निन्दनीय कार्य हो,’ स्थानीय गभर्नर दिमिट्रो लुनिनले टेलिग्राममा लेखे र यो ‘युद्ध अपराध’ भएको बताए । बीबीसी

प्रतिक्रिया