बिहीबार, पुष ३, २०८२

ई-सेवा र लुलु इन्टरनेसनलबीच रेमिट्यान्स भुक्तानी सम्झौता, ८४ शाखाबाट पैसा पठाउन सकिने

नेपालखोज २०७९ असार १४ गते १४:१९

काठमाडौं । संसारका दुई सय बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याइ नेपालभर सेवा प्रदान गरिरहेको ई–सेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यूएईस्थित लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै, यूएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाहलगायत यूएईका सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीले लुलु इन्टरनेस्नल एक्सचेन्जमार्फत नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ ।

उनीहरूले यूएईभर रहेका लुलुका ८४ मध्ये कुनै पनि शाखामा गई ई–सेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् । यसका साथै, लुलुको मोबाइल एप (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्नेछन् । लुलुका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सीधै रकम पैसा पठाउन सकिनेछ भने ६० लाख भन्दा बढी प्रयोगकर्ता रहेकोे ई–सेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ ।

साथै लुलु इन्टरनेसनल एक्सचेन्ज हुँदै यूएईबाट पठाएको रेमिट्यान्स, नेपालका अधिकांश ठाउँमा रहेका ई–सेवा मनी ट्रान्सफरका १२ हजारभन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखाभन्दा बढी ई–सेवाका क्यास प्वाइन्टमार्फत पनि रकम झिक्न सकिनेछ । यसका साथै, पठाएको नगद रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै ई–सेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस रकमसमेत प्राप्त गर्न सकिनेछ । यसैगरी हाल ई–सेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको हुनाले यूएईस्थित नेपालीहरूले लुलुबाट ई–सेवा मनी ट्रान्सफरमार्फत नेपाल रकम पठाई दैनिक रु. ५,००० तथा बम्परमा रु. ५०,००० समेत जित्न सकिनेछ ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलुका तर्फबाट सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि ई–सेवा मनी ट्रान्सफरका सीईओ, अजेस कोइरालाले भने, ‘ई–सेवा मनी ट्रान्सफर र लुलु इन्टरनेसनलबीचको सम्झौताले यूएईबाट नेपाल रेमिट्यान्स भुक्तानी सेवालाई थप सहजता प्रदान गर्ने सुनिश्चित छ । डिजिटल माध्यमबाट बैंक तथा ई–सेवा वालेटमा पनि पैसा पठाउन मिल्ने भएकाले अधिकांश नेपालीले लुलुबाट ई–सेवामार्फत नेपाल पैसा पठाउने कुरामा हामी विश्वस्त छौँ ।’

लुलु इन्टरनेसनल एक्सचेन्ज विदेशी मुद्रा एक्सचेन्ज र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यूएईस्थित गैरबैंकिङमूलक वित्तीय संस्था हो । यसको प्रधान कार्यालय अबुधाबीमा छ । हाल यसले संसारका अधिकांश मुलुकमा विदेशी मुद्रा एक्सचेन्ज र मनी ट्रान्सफरको सेवा प्रदान गरिरहेको छ ।

ई–सेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई–सेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरू र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ । ई–सेवा मनी ट्रान्सफरले आफ्ना सेवाग्राहीहरूलाई १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा ई–सेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ई–सेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

प्रतिक्रिया