नेपालमा लगानीका गर्न अस्ट्रेलियालाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलियासमक्ष आग्रह गरेको छ । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत्, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् । नेपाल र अस्ट्रेलियाबीच ६० वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र निजी क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यकता रहेको अध्यक्ष मल्लले बताए ।
अस्ट्रेलियाले नेपालको वन क्षेत्रको संरक्षण तथा संवर्द्धन गर्न लामो समयदेखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिए । उनले जडीबुटी एवं खानीजन्य तथा धातुहरूको प्रशोधन गर्ने उद्योगमा लगानी गरि अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्नसमेत राजदूत वोल्कसमक्ष आग्रह गरे । अध्यक्ष मल्लले भने, ‘समृद्ध मुलुक अस्ट्रेलियाले थुप्रै देशमा लगानी गरिरहेको छ । तर नेपालमा लगानी निकै नगन्य मात्रामा छ । भारत तथा बंगलादेशको विद्युत् बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्न म महामहिम राजदूत वोल्कलाई आग्रह गर्दछु ।’ अस्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानीका लागि अध्यक्ष मल्लले आग्रहसमेत गरे ।
वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्कसमक्ष आग्रह गरे । अध्यक्ष मल्लले भने, अस्ट्रेलियाको लगानी सुनिश्चित गर्न निजी क्षेत्रका तर्फबाट नेपाल चेम्बर अफ कमर्सले पहल गर्नेछ ।’
नेपालका विद्यार्थीहरू अस्ट्रेलियामा अध्ययनका लागि गइरहेको सन्दर्भमा अध्यक्ष मल्लले त्यहा“का विख्यात शैक्षिक संस्थाबाट नेपाली शैक्षिक संस्थालाई सम्बन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्नसमेत राजदूत वल्कसमक्ष आग्रह गरे । अध्यक्ष मल्लले नेपाल र अस्ट्रेलियाबीच सीधा हवाई सेवा विस्तार गरेर दुवै देशले फाइदा लिन सक्नेमा जोड दिए । यसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्नेमा अध्यक्ष मल्लले विश्वास व्यक्त गरे । सूचना प्रविधीको क्षेत्रमा लगानीका लागि अस्ट्रेलियाको निजी क्षेत्रमा पहल गरिदिनसमेत राजदूत वल्कलाई अध्यक्ष मल्लले प्रस्ताव गरे ।
जवाफमा राजदूत वल्कले नेपाल अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध ६० वर्षभन्दा पुरानो र ऐतिहासिक भएको बताए । नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अस्ट्रेलियाले सधैं गर्व गर्ने उनको भनाइ छ । नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरूको शैक्षिक सुधार तथा भविष्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
वल्कले भने, ‘नेपालबाट वार्षिक ५० हजार विद्यार्थीलाई अस्ट्रेलियाले अध्ययन भिसा उपलब्ध गराउ“दै आएको छ । अस्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या विश्वमा चीन, भारतपछि नेपाल तेस्रो स्थानमा छ । हामी अझै यसको सुधारको पक्षमा छौं ।’ नेपालमा लगानीका लागि नीतिगत समस्या हुँदा पनि अस्ट्रेलियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाइ छ ।








प्रतिक्रिया