अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षा

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ । पालिकाले १६ बालबालिकाका लागि बालगृहमा राखेर शिक्षा दिन थालेको छ ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले दोस्रो कार्यकालको पदभार ग्रहण गर्ने बेलामै पालिकामा उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई एमबीबीएस पढाउने र अभिभावक नभएका बेसहारा तथा अनाथ बालबालिकाको लालनपालन र माध्यमिक शिक्षाको ग्यारेन्टी गर्ने गरी बालगृह सञ्चालन गर्ने योजना एक महिनामै कार्यान्वयनमा ल्याएका हुन ।
दुर्गम मानिने तमानखोला गाउँपालिका–३ तमान गाउँमा पालिकाले बालगृह सञ्चालन गर्न थालेको छ । बालगृहमा अहिले १६ बालबालिकालाई आश्रय दिएर गाउँपालिकाले निःशुल्क शिक्षाको व्यवस्थापन मिलाएको छ । अभिभावक गुमाएका, शिक्षाबाट वञ्चित भएका र पालनपोषणको अभावमा विद्यालय आउन नसकेका बालबालिकालाई पालिकाले बालगृहमा राखेर अध्ययन गराउन बालगृह सञ्चालनमा ल्याएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।
उनीहरुले नजिकको सामुदायिक विद्यालयमा अध्ययन गर्ने छन् । कक्षा १२ सम्म पालिका र बालगृह सञ्चालन समितिले निःशुल्क पठनपाठनसँगै खाना र आवासको व्यवस्थापन गर्ने भएको छ ।
प्रत्येक महिना कम्तीमा दुई पटक उनीहरुको स्वास्थ्य परीक्षण गरिने, अध्ययनलाई राम्रो बनाउन पालिका र समितिले हेरचाह गर्ने गरी कार्यक्रम अगाडि बढाइएको अध्यक्ष बुढामगरले बताए ।








प्रतिक्रिया