पानीको कामना गर्दै पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं । पशुपति क्षेत्रमा पानीको कामना गर्दै गंगामाई जात्रा गरिने भएको छ । आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गंगामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपति नाथ मन्दिर तथा पाशुपत क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गाको दिव्य रथ यात्रा तथा विशेष अर्चना उपासना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ ।
यो जात्रामा राज्यबाट हर्ष बढाइँका लागि गुरुज्युको पल्टनले सलामीसमेत प्रदान गर्ने प्राचीन परम्परा छ । गंगामाई जात्राको प्रतीकका रुपमा यसलाई अहिले पनि पशुपति क्षेत्र विकास कोषले निरन्तरता दिँदै आएको छ । पाशुपत क्षेत्र शाक्त सम्प्रदायकोसमेत उपासना स्थल हो ।
भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भ गृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देव मार्गमा परिक्रमा गराइन्छ । जात्राको सबै तयारी पूरा भएको कोषबाट जात्रा पर्व हेर्ने कर्मचारी वरुण खतिवडाले जानकारी दिए । आज अपराह्न पशुपतिनाथको बज्रघरबाट रथयात्रा सुरु हुने जनाइएको छ ।








प्रतिक्रिया