‘साना किसान सबल भए मात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ’

काठमाडौं । कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरूलाई सबल बनाउनुपर्ने राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २१औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले नेपालको आर्थिक सामाजिक रूपान्तरणका लागि साना किसानहरूलाई सबल बनाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा पूर्वगर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले गरिबी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पूरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले किसानहरूलाई उत्पादनसँगै उत्पादित वस्तुहरूको संकलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताए ।

किसानको उत्पादनलाई सीधै वा प्रशोधन गरेर किसान आफैंले बजारसम्म लैजानसक्ने वातावरणको विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो । ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानहरूले खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानहरूलाई सँगसँगै अगाडि बढाए मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले साना किसानहरूलाई उद्यमसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । नेपाल सरकारले लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको भन्दै उनले यसका लाभग्राही साना किसानहरू नै रहेको बताए । सचिव पोखरेलले उत्पादित कच्चा पदार्थलाई साना तथा मझौला उद्योगबाट प्रशोधन गरेर बजारमा पठाउन सके त्यसको मूल्य बढ्ने र किसानको आर्थिक अवस्था सुधार हुने बताए ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेमबहादुर पाठकले नेपालका दूरदराजका गरिब किसानहरूको जीवन रूपान्तरणमा विगत २१ वर्षदेखि निरन्तर काम गर्दै आएको बताए । ग्रामीण क्षेत्रमा साना किसानहरूले भोगिरहेको आर्थिक समस्यालाई निधान गर्ने एक मात्र संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था भएको दाबी गरे ।
उनले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका साना किसानहरूलाई गोलबद्ध गर्दै पुँजीको पहुँच वृद्धि गर्न सफल भएको बताए । पुँजीको पहुँच वृद्धिसँगै उत्पादनमा पनि सन्तोषजनक प्रगति भएको भन्दै अध्यक्ष पाठकले राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाति, महिलालगायतलाई सूसुचित गरी उत्पादनमा संलग्न गराउँदै राज्यको मूलधारमा ल्याउन सफल भएको दाबी गरे । पछाडि परेको समुदायलाई आवश्यक पर्ने वित्तीय पहुँचमा जोड्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पुँजी, प्रविधि, तालिम, चेतना, नेतृत्व विकासलगायत क्षेत्रमा काम गर्दै आएको अध्यक्ष पाठकले बताए ।

यसैगरी कार्यक्रममा लघुवित्तका सञ्चालक प्रताप सुवेदीले नेपालको गरिबी निवारणमा साना किसान लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । अरू बैंक तथा वित्तीय संस्थाहरू गाउँतहमा पुगेर सेवा दिन नसकिरहेको अवस्थामा विशिष्टकृत विशेषता सहित किसानहरूलाई लक्षित गरी स्थापना भएको तत्कालीन साना किसान विकास बैंक र हालको साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. लाई अब उत्पादनसँग जोड्दै जानुपर्ने आवश्यकता रहेको उनको धारणा थियो ।
यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले नेपालको गरिबी निवारणमा यस लघुवित्तले अग्रणी भूमिका निर्वाह गरेको बताए । उनले आर्थिक क्षेत्रमा किसानको पहुँच बढाउँदै आम्दानीको स्रोत बढाउन किसानहरूलाई सहयोग गर्ने एकमात्र संस्था साना किसान लघुवित्त वित्तीय संस्था रहेको बताए ।
नेपालका ५ सय ४० वटा स्थानीयतहमा पहुँच विस्तार गरेको यस लघुवित्तमा ७९ प्रतिशत महिला सहभागिता रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत डा. कोइरालले आर्थिक सामाजिक रूपान्तरणसँगै नेतृत्व विकासमा समेत योगदान गरिरहेको बताए । उनले सरकार र साझेदार संस्थाहरूसँगको सहकार्यले यस संस्थाले सञ्चालन गरेका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउनसमेत सहयोग पुगेको बताए ।
लघुवित्तको २१औँ स्थापना दिवसका अवसरमा साना किसान विकास अभियानमा सहयोग पुर्याउने बाराकी सुगन्धी पासवान र सर्लाहीको लालबन्दीका मानबहादुर खड्कालाई सम्मान गरेको थियो । यसैगरी वित्तीय संस्थाले राष्ट्रियस्तरमा सर्वोत्कृष्ट संस्थाका रूपमा साना किसान कृषि सहकारी संस्था लि. रघुनाथपुर धनुषालाई पुरस्कृत गरेको छ । यसैगरी इलाका कार्यालय बनेपाअन्तर्गत उत्कृष्ट संस्थाका रूपमा सिन्धुपाल्चोकको जरायटार साना किसान कृषि सहकारी संस्था पुरस्कृत भएको छ ।
सर्वोत्कृष्ट इलाका कार्यालयका रूपमा नेपालगन्ज कार्यालयलाई पुरस्कृत गरिएको छ । साना किसान विकास आयोजनाका रूपमा २०३२ सालदेखि कृषि विकास बैंकमार्फत सुरु भएको साना किसान विकास कार्यक्रम २०५८ सालमा साना किसान विकास बैंकका रूपमा स्थापना भएको थियो । अहिले लघुवित्त वित्तीय संस्थाका रूपमा साना किसान सहकारीहरूलाई सेवा प्रवाह गर्दै आएको यस संस्थामा १२ सय ९१ सहकारी संस्थाको संस्थागत सहभागिता छ ।
यस वित्तीय संस्थाको सेवा ७६ जिल्लाका ५ सय ४० स्थानीयतहसम्म पुगेको छ । १० लाखभन्दा बढी घरपरिवारमा ८१ अर्बको कारोबार रहेको अहिलेको अवस्थामा सहकारीहरूमा ७९ प्रतिशत महिला सहभागिता छ ।
प्रतिक्रिया