अब गिफ्ट कार्डबाट एनआरएनए अमेरिकाको सदस्य बन्न नपाइने

काठमाडौं । प्रवासी नेपालीको साझा संगठन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाको एघारौं साधारणसभा तथा विज्ञ भेला नर्थ क्यारोलिनाको र्यालेमा सम्पन्न भएको छ । जुलाई ३ र ४ तारिखमा सम्पन्न साधारणसभाको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र अध्यक्ष बुद्धिसागर सुवेदीले पानसमा बत्ती बालेर गरेका थिए ।
साधारणसभामा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का दुई अध्यक्ष कुल आचार्य र रविना थापा, महासचिव डा. केशव पौडेल, सचिव राजन त्रिपाठी, अमेरिकाज रिजनका डीआरसी रामकुमार सुवेदी, नर्थ क्यारोलाइना मोरिसभिल सहरका नगर प्रमुख टीजे काउली, सांसद कमला पन्त, नेपाली कांग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य र प्रतिमा गौतम, नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, दाङ जिल्ला सभापति शंकर डाँगी, राप्रपा नेपालका केन्द्रीय सदस्य लोक तिवारी, नेपाली कांग्रेसका महासमिति सदस्य विष्णु सुवेदी, जनसम्पर्क समितिका महासचिव मुनीन्द्र नेम्बाङ, जनसम्पर्क समितिका संस्थापक सदस्य नारायण थापा, एनआरएनए अभियन्ताहरू डा. यादव पण्डित, डा. रुद्र अर्याल, विश्व बराल, नेपाल अमेरिका पत्रकार संघ नेजाका महासचिव सुरज भण्डारी, पानस आईसीसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, जनप्रगतिशील मञ्चका संस्थापक अध्यक्ष काशी पौडेल, उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचन, गाउँपालिका समन्वय समितिका महासचिव वंशलाल तामाङ, इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट संघ नेपालका पूर्वअध्यक्ष महेश खनाल, आईसीसीका फोकल पर्सन सुरज दाहाल, आईसीसीका सदस्यहरू, एनसीसीका पदाधिकारीहरू स्थानीय संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उद्घाटन सत्रमा उपस्थिति थियो ।
आईसीसी र एनसीसीबीच समझदारीपत्रमा हस्ताक्षर
साधारणसभाको अवसरमा आईसीसी र एनसीसी अमेरिकाको बीचमा २४ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र आईसीसीका अध्यक्षद्वय कुल आचार्य, रविना थापा र महासचिव डा. केशव पौडेलको उपस्थितिमा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले हस्ताक्षर गरेका थिए ।
सभाले विधानमा निवर्तमान अध्यक्ष प्रमुख संरक्षक रहने प्रावधानलाई हटाएर पूर्वअध्यक्ष मध्येबाट संरक्षक राख्ने, च्याप्टर सभापतिहरूलाई एनसीसी अमेरिकाको स्वतः बोर्ड अफ डाइरेक्टर हुने, गिफ्ट कार्डबाट सदस्य बन्न नपाउने व्यवस्था गरेको छ । महिला प्रतिनिधित्व बढाउन कार्यसमिति र सल्लाहकार समितिमा ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गर्ने व्यवस्था गरेको छ । साधारणसभा आगामी दिनमा जुलाई अन्तिम समयतिर हुने व्यवस्थासमेत विधानमा गरिएको छ ।
एक वर्षको कार्यकालमा महत्त्वपूर्ण उपलब्धिका रूपमा कोभिड–१९ को समयमा अमेरिकी सेनाको हवाइजहाजमार्फत नेपालमा राहत सामग्री पठाइएको थियो । नेपालमा आपत्–विपत् परेको समयमा अमेरिकी सेनाले निःशुल्क सामग्री ढुवानी गराउने व्यवस्था एउटा महत्त्वपूर्ण उपलब्धि हो ।
यस्तै नेपालको राष्ट्रिय क्रिकेट टिमलाई प्रोत्साहन तथा अवसर प्रदान गर्ने उद्देश्यले टेक्ससको ह्युज्टनमा जुन २ र ४ मा एनआरएनए अमेरिका कप– २०२२ को आयोजना गरिएको थियो ।
एनआरएनए को ‘ओन एनसीसी ओन च्यारिटी’ कार्यक्रमअन्तर्गत सल्यानको कुमाख गाउँपालिकामा प्रसूति भवन निर्माण पूरा भएको छ । सो कार्यमा भवन निर्माण, सामग्री खरिद र बर्थिङ सेन्टरमा बस्नेलाई दुई वर्षको तलब गरी करिब ४० लाख नेपाली रुपैयाँबराबरको सहयोग एनआरएनए अमेरिकाले गरेको छ । यस कार्यले नेपालको ग्रामीण भेकमा प्रत्यक्ष रूपमा सामाजिक सेवा पुर्याउन एनआरएनए अमेरिका सफल भएको छ ।
अमेरिकास्थित नेपाली दूतावास तथा नेपालस्थित अमेरिकी दूतावाससँग समन्वय गर्दै नेपालीलाई सहयोग पुर्याउने कार्यको सुरुवात यसै कार्यकालमा भएको छ ।
विगत एक वर्षमा एनसीसी, च्याप्टर तथा टास्कफोर्सले गरेर तीन सयभन्दा बढी कार्यक्रम आयोजना गरेको तथा सो दौरानमा आपत्–विपत् परेको समयमा दुई लाख पचास हजारभन्दा बढी आर्थिक सहायता गरेको जानकारी अध्यक्ष बुद्धिसागर सुवेदीले दिएका छन् । यस कार्यकालको महत्वपूर्ण सफलताका रूपमा झोलामा रहेको संस्थालाई आफ्नो भवनमा सार्ने तयारीको रूपमा छ । भवन खरिद गर्न सम्भाव्य स्थलको निरीक्षण गरिएको र खरिदसम्बन्धी सम्पूर्ण कार्य आगामी एक वर्षभित्रमा सम्पन्न गरिसक्ने लक्ष्य कार्यसमितिले राखेको छ ।
सभाको बन्द सत्रले कानुन व्यवसायी वासु फुलारालाई प्रमुख निर्वाचन आयुक्तका रूपमा नियुक्त गरेको छ । उक्त समितिको सदस्यहरूमा विनोद सुवेदी, टुक रेग्मी, प्रियरञ्जन दाहाल र खड्क उप्रेती छन् । संघका तर्फबाट यसअघि निर्वाचन कमिटीमा रहेर योगदान गर्ने प्रमुख विश्व बराल तथा सदस्यहरू वासु फुलारा, कुलमणि आचार्य, गोविन्दकुमार श्रेष्ठ र शिवराज पौडेललाई संस्थाले धन्यवाद दिएको छ ।
त्यसैगरी सभाले आन्तरिक अडिट कमिटीको प्रमुखमा केशव बराल एवं सदस्यहरूमा अमित शर्मा र गोपालकृष्ण आचार्य नियुक्त गरेको छ । साधारणसभाको दोस्रो दिन विभिन्न विधामा सम्मेलन भएका थिए । अमेरिकामा रहेका विद्वानहरूको भेलाको रूपमा समेत रहेको विज्ञ भेलामा विभिन्न विधामा शोधपत्रहरू प्रस्तुत भएका थिए । नेपालको विकासमा निश्चित रूपमा अमेरिकामा रहेका विज्ञहरूद्वारा दिएका राय सुझावले परिवर्तनको मार्गमा एक आयाम थप्न यस सम्मेलनले सघाउ पुर्याउने सबैले विश्वास लिएका छन् ।

उद्घाटन सत्रमा उपस्थित सबैलाई कन्भेनर सुमन थापाले स्वागत गरेका थिए । महासचिव अन्जनकुमार चौलागाईं, सचिव अनुप खनाल र महिला सचिव सुनीता कँडेलले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए ।
सभालाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खट्नु हुने कन्भेनर सुमन थापा, को–कन्भेनरत्रय डिलु पराजुली, कुलानन्द शर्मा र वासुदेव भट्ट, कार्यसमिति तथा च्याप्टरका साथीहरू, ज्ञान सम्मेलनका संयोजक डा. माधव पाण्डे, साधारणसभा आयोजक समितिका सम्पूर्ण सदस्य, नर्थ क्यारोलाइना च्याप्टर, एनसीसीका पदाधिकारी तथा बोर्ड सदस्य, सम्पूर्ण मिडियाकर्मी र पत्रकार तथा नर्थ क्यारोलाइनावासी नेपालीहरूमा धन्यवाद प्रदान गरेको छ ।








प्रतिक्रिया